काठमाण्डौं – मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन् ।
नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए ।


नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि यही पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल भइरहेको थियो ।
सोही क्रममा आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवरलगायतले संयोजक रावलसँग भेटवार्ता गरेका थिए ।
उक्त छलफलका क्रममा रावललाई संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमै सामेल हुन आग्रह गरेका थिए ।


















