काठमाण्डौं – नेपाली कांग्रेसको संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुटै मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरको छन । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा दुई वटा प्रस्ताव पेस भएका हुन ।
सस्थापन पक्षले आगामी २७–३० वैशाखसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ । बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखको अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।


यसअघि बैठकमा महामन्त्री गगन थापाले भने आगामी पुसमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । महामन्त्री थापाले १६–१९ पुसभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
कांग्रेसमा संस्थापन र संस्थापन इतर समूहले १५औं महाधिवेशन नियमित गर्ने तर, फरक–फरक मितिमा गर्न प्रस्ताव गरेका हुन् ।
सोमबार नयाँबानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो ।
संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।
उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।


















