खाेज्नुहाेस

अलराउण्डर हर्मीत सिंह पुनः सुदूरपश्चिम रोयल्समा अनुबन्धित

Image

धनगढी – सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । हर्मीतले यसअघि पनि सुदूरपश्चिमबाट पहिलो संस्करण खेलेका थिए र पाँच खेलमा आठ विकेट लिएका थिए । उनी सो सिजनमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी बनेका थिए ।

navjiwan hospital

आफ्नो अनुबन्धपछि खुशी व्यक्त गर्दै उनले भने, ‘म फेरि नेपाल प्रिमियर लिगमा फर्किँदै छु । गत सिजनको अधुरो काम यसपटक पूरा गर्नु छ । समर्थकहरूसँग छिट्टै भेट हुनेछ ।’ सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बनेको बताए । उनले भने, ‘हर्मीतबाट गत सिजनजस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं ।’

attariya hospital

३२ वर्षीय हर्मीत बाँयाहाते बलर र ब्याट्सम्यान हुन् । उनले अमेरिकाका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट र २३५ रन बनाएका छन् । एकदिवसीयमा उनले २१ खेलमा ३१ विकेट र ३२५ रन जोडेका छन् । स्मरण रहोस्, हर्मीत सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए र आईपीएलमा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् ।

सुदूरपश्चिम रोयल्सले यस सिजनका लागि बलियो टोली घोषणा गरेको छ । टोलीमा कप्तान दिपेन्द्र सिंह ऐरीसहित आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मीत सिंह रहेका छन् । सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमटा हुन् ।