धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले तिहार र छठ पर्व सकिएलगत्तै प्रदेशसभा बैठक आह्वान गर्ने तयारी थालेको छ । जेनजी आन्दोलनपछि ध्वस्त बनेको प्रदेशसभा भवनको पुनर्निर्माण नहुँदा लामो समयदेखि बैठक स्थगित अवस्थामा रहँदै आएको थियो ।
अहिले सरकारले अस्थायी संरचनामार्फत सभा सञ्चालन गर्न सकिने सम्भावनाबारे आन्तरिक छलफल सुरु गरेको छ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट प्रदेशसभा भवन पूर्णरूपमा क्षतिग्रस्त बनेको थिया । बजेट सुनिश्चितता नहुँदा पुनर्निर्माण कार्य सुरु हुन नसकेको बताइन्छ । यद्यपि, मुख्यमन्त्री कमल बहादुर शाहका अनुसार, परिस्थिति अनुसार सभा सञ्चालनका लागि गृहकार्य भइरहेको छ । मुख्यमन्त्री शाह भने ‘तिहार तथा छठ पर्वपछि प्रदेशसभा बैठकका लागि सिफारिस गर्ने तयारी भइरहेको छ। पुनर्निर्माणको प्रक्रिया अघि बढ्दैछ र आवश्यक भए अस्थायी संरचनाबाट बैठक सञ्चालन गरिनेछ ।’



तर, प्रदेशसभा सचिवालयले भने तत्काल बैठक बोलाउने अवस्था नरहेको जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार, आन्दोलनका क्रममा सभा हलदेखि समितिका कार्यालयसम्म सबै कक्ष ध्वस्त भएकाले भौतिक पूर्वाधारको अभावमा बैठक सञ्चालनमा कठिनाइ भएको हो । उनले भने ‘चालु अधिवेशन अझै अन्त्य भएको छैन । आन्दोलनका कारण स्थगित बैठक पुनः सञ्चालन गर्न भौतिक पूर्वाधार नहुँदा समस्या भइरहेको छ ।’
हाल प्रदेशसभामा दर्ता भएका तीन महत्वपूर्ण विधेयक टीकापुर प्राविधिक विश्वविद्यालय स्थापना विधेयक, बढघर भल्मन्सा सम्बन्धी विधेयक, र वन ऐन संशोधन विधेयक पनि स्थगित अवस्थामा रहेका छन् । यी विधेयकको प्रक्रिया आगामी बैठकबाट मात्रै अघि बढ्ने तयारी सचिवालयले गरेको छ । आन्दोलनका क्रममा प्रदेशसभा भवनभित्रका सभा हल, संसदीय दलका कार्यालय, समितिका कक्ष, सचिवालयका सम्पूर्ण कक्ष तथा आवश्यक उपकरणहरू जलेर नष्ट भएका थिए ।
प्रारम्भिक विवरण अनुसार करिब सात करोड रुपैयाँ बराबरको जिन्सी क्षति भएको अनुमान गरिएको छ । प्रदेशसभाले हाल वैकल्पिक स्थल खोजी गरेर अस्थायी रूपमा बैठक सञ्चालन गर्ने तयारीलाई तीव्र पारेको छ ।

















