खाेज्नुहाेस

एनएसपिएलमा सुदूरपश्चिमबाट भिड्दै खप्तड सुदूरपश्चिम थन्डर

Image

अत्तरिया– काठमाण्डौमा यही कार्तिक १५ गतेदेखी सञ्चालन हुन लागेको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर भिड्ने भएको छ । देशभरका ७ वटा प्रदेशहरुबाट आउने ७ वटा टोलीहरुमा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डरले प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।

खप्तड सुदूरपश्चिम थन्डरका टीम मालिक अरुण भण्डारीले प्रतियोगितामा आफ्नो टिमले प्रतिष्पर्धा गर्न लागेको जानकारी दिए । मंगलबार कैलालीको गोदावरी नगरपालिका– ४ मा रहेको ग्रिन गोदावरी रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देशमै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर भिड्ने बताए । ‘देशभरबाट ७ वटा टीमहरु प्रतियोगितामा भिड्नेछन्, जसमा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर रहेको छ’ उनले भने ‘प्रतियोगितामा सुदूरपश्चिमलाई हामीले प्रतिनिधित्व गरिरहेका छौ, सबैको साथ र सहयोगको अपेक्षा लिएका छौ ।’

attariya hospital
navjiwan hospital

टेनिस बलबाट खेलाईने टि–१० फम्र्याटको सो प्रतियोगिता देशमै पहिलो पटक आयोजना हुन गैरहेको छ । काठमाण्डौको डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. ले आयोजना गर्न लागेको सो प्रतियोगितामा सहभागिता जनाउने टिमहरुले केही दिन अघि मात्रै अक्सन मार्फत खेलाडीहरु खरिद गरेका छन् । खप्तड सुदूरपश्चिम थन्डरका मालिक भण्डारीले अक्सनमार्फत आफूहरुले सन्तुलित टिम निर्माण गरेको बताए । उनले सुदूरपश्चिमको टिममा सुदूरपश्चिमकै खेलाडीहरुको बर्चश्व रहेको समेत बताए । ‘हामीले टिममा अक्सनमार्फत सुदूरपश्चिमकै खेलाडीहरु खरिद गरेका छौ’ उनले भने ‘१६ जना को फुल स्क्वाडमा १२ जना खेलाडी सुदूरपश्चिमका छन, जसले यहाँका टेनिस बल खेलाडीहरुको खेलप्रतिको मनोबल पनि बढाएको छ ।’

खप्तड सुदूरपश्चिमको टिम मेनेजरका रुपमा बिक्रम बिष्ट रहेका छन भने ब्रान्ड एम्बेसडरका रुपमा साईकल यात्री भरत बिक्रम शाह रहेका छन् । खप्तड सुदूरपश्चिम थन्डरको मार्कि प्लेयरका रुपमा राष्ट्रिय टोलीका पुर्व खेलाडी मेहबुब आलम रहेका छन् । भण्डारीले देशभरका विभिन्न गल्ली तथा टोलहरुमा टेनिस बलबाट क्रिकेट खेलिने गरेको भएपनि व्यवसायीक नहुँदा समस्या हुने गरेकोमा प्रतियोगिताले टेनिस बलबाट क्रिकेट खेल्ने खेलाडीहरुमा नयाँ उत्साह थपेको बताए । उनले गल्लीमा क्रिकेट खेल्ने खेलाडीहरुले स्टेडियममा पुगेर क्रिकेट खेल्न पाउनु गौरवको कुरा भएको बताए । उनले प्रतियोगिताका कारण आउँदा दिनमा क्रिकेट खेलाडीहरु बढी उत्पादन हुने समेत विश्वास व्यक्त गरे ।

कार्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता काठमाण्डौस्थित मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा खप्तड सुदूरपश्चिम थन्डरले अक्सन मार्फत ७ लाख ३५ हजारमा खेलाडीहरु खरिद गरेको छ । लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुने प्रतियोगितामा शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।