बझाङ– बझाङ कारागारबाट भागेका १२ जना कैदीबन्दी अझै फरार रहेका छन । यही भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा कारागार तोडफोड गरी फरार रहेका ६५ जना कैदीबन्दी मध्ये अझै १२ जना कैदीबन्दी फरार रहेका हुन । बाँकी ५३ जना भने कारागारमा ल्याईसकिएको जेलर राजेन्द्रबहादुर फराडाले बताए ।

उनका अनुसार कुल ८५ कैदीबन्दी रहेको सो कारागारबाट आन्दोलनका क्रममा ६५ कैदीबन्दी भागेका थिए । जसमध्ये ४० जना आफैँ कारागारमा आएका र १३ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जेलर फराडाले बताए । २० जना कैदीबन्दी भने आन्दोलनका समयमा पनि कारागार भित्रै रहेको उनले बताए । फरार रहेकाहरुको खोजी भैरहेको उनको भनाई छ ।

आन्दोलनका बेला जेल तोडफोड गर्ने योजनाकार रहेका पाँच जनालाई बझाङ कारागारबाट धनगढी, बैतडी, डडेलधुरा जिल्लाका कारागारमा स्थानान्तरण गरिएको र केहीलाई बाँके पठाउने तयारी भइरहेको फराडाले बताए । कारागार प्रशासनले फरार अवस्थामा रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनस्र्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्ने भन्दै फरार कैदीबन्दीलाई स्वयं सचेत भएर फर्किन पनि अपिल गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बझाङले पनि सार्वजनिक सूचना जारी गर्दै फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । फरार हुँदा स्वयं कैदीबन्दीलाई नै बढी समस्या हुने र थप सजायसमेत हुने भएकाले स्वयं सम्पर्कमा आएको खण्डमा सजायमा सहुलियत हुने भन्दै सम्पर्कमा आउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी खगेन्द्र धमलाले बताए । ‘आग्रहको अटेर गर्नेहरूको खोजी तीव्र रूपमा भइरहेको छ, अहिलेको समयमा प्रहरीको आँखा छलेर लुक्न त्यति सजिलो छैन,’ उनले भने ।















