बाजुरा– बजार नपाउँदा बाजुरामा अहिले उत्पादन भएको स्याउ गाईगोरुको आहार बन्न थालेको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१, काँडामा उत्पादन भएको स्याउ बजार नपाउँदा अहिले गाईगोरुको आहारा बन्ने गरेको हो ।
करोडौँको लागतमा उत्पादन गरेको स्याउले बजार नपाएपछि गाईगोरुको आहारा बनाउन थालेको कृषक वीर बहादुर रावलले बताए । सो वडाका वडाध्यक्ष समेत रहेका उनले बाटो र बजारको अभावले अहिले उत्पादन भएको स्याउ जनावरको आहार बन्ने गरेको बताए । ‘पर्यटकीय क्षेत्रनजिकै उत्पादन गरेको स्याउ बिक्रीका लागि बाटो र बजारको अभाव भएको छ’ उनले भने ‘जसले गर्दा अहिले सो स्याउ टिपेर गाईगोरुलाई खुवाउनु परेको छ ।’


२०७६ फागुनमा धौलछडा नजिक रहेको १२० हेक्टर जमिनमा इटालीबाट हाइटेन्सी जातको ६ हजार बोट स्याउ ल्याएर रोपेको बताउदै उनले रोपेकै वर्षमा स्याउ फल्न सुरु भएपनि बजारको अभाव रहेको बताए । एक करोड २० लाख रुपियाँ लगानी गरेर उत्पादन गरेको स्याउले बजार नपाउँदा जनावरलाई खुवाउनुपर्ने बाध्यता आईलागेको उनले बताए । आफूले उत्पादन गरेको स्याउ सुदूरपश्चिमका विभिन्न बजारमा झन्डै तीन महिनासम्म बिक्री गर्न पुग्ने उनको भनाइ छ ।
रावलले केही वर्ष पहिला वडाको आर्थिक सहयोगमा झन्डै पाँच किलोमिटर सडक बनाएर गाँज्रादेखि वडा कार्यालयसम्म पु¥याएका थिए । तर त्यो सडक अविरल बर्सातका कारण अहिले बन्द छ । यता डाब खप्तड पर्यटकीय सडक पनि अलपत्र परेको छ । बाजुराको गौरवको योजना रहेको यो सडक विगत १६ वर्षदेखि अलपत्र पर्दै गएको छ । जसका कारण उत्पादीत बस्तुहरु बजार सम्म ल्याउन सकिने कुनै पनि उपाय नरहेको उनि बताउँछन् ।
गाउँपालिकाको काँडा फलफूल र तरकारी खेतीका लागि निकै उपयोगी ठाउँ हो । यहाँका किसान प्रायः सुन्तला, ओखर, आलु, मुला लगायतका थुप्रै फलफूल तथा तरकारी वस्तु उत्पादन गर्ने गर्छन् ।
बाजुरामा १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । गत वर्ष १ हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष पनि त्यसैको हाराहारीमा स्याउ उत्पादन भएको छ । विगतका केही वर्षयता बाजुरामा उत्पादन भएको झन्डै ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।


















