आयो–आयो, ऊ त्यो आयो
दौड–दौड भाग–भाग
यता उता, जहाँ तहाँ
गल्ली गल्ली, सडक टोलमा
आवाज एक नै आयो, आयो आयो
ऊ त्यो आयो ।
तर त्यो आयो
के आयो ?
कहिले त्यो जुलुस आयो
नारा घन्काउँदै,
विद्यार्थीको टोली आयो
राँको बाल्दै,
थाहा पाई कोही रुक्यो
नारा सित नारा कस्यो
मुट्ठी सित मुट्ठी कस्यो
कर्तल ध्वनिले स्वागत गर्यो ।

कोही भाग्दै घर भित्र पस्यो
आधा जतिले आधा झ्याल खोली
एक आँखाले बाहिर हेर्यो ।
नारा त मलाई राम्रै लागे ।
शरीरका रौँ ठाँडा हुन् थाले
झ्याल नै फोडेर
सडकमा हाम फल्न
जोश फुट्यो ।
कसैले साँच्चिकै
हाम फाल्यो पनि
कसैले हाम फालौ फालौ
भन्दा भन्दै जोश सेलायो ।

सडकका छेउमा बसेका
कुनै कुनै बुढाहरुले भन्यो
यो बौलाहेका केटाहरुको धृष्टता हो
पहाड फोड्छु कुहिनाले ठोकेर भन्नु ।
केही भागे –
आफ्नै घनिष्ट मित्रहरु देखेर
जोकि झण्डा बोकी, मुठ्ठी उचाली
अघि बढेका
तान्ने हुन् कि हात भनेर ।
अनि त्यस दृश्यलाई
कतै बाट
हेर्ने पो हुनकि –
राष्ट्र बेचुवा
राष्ट्रवादी हो भनेर ।
राष्ट्रलाई नै
समर्पित भएका
भए, अज्ञानले–आतंकितहरुलाई
स्वतन्त्र संग्रामका
सेनानी बनाउन
बेगुल फुकी रहेका
आत्म शक्तिका
हतियार बोकेका
सभाहरुलाई
अराष्ट्रि तत्व
अनि उग्रवादी भनेर
सखाप पार्ने ध्येय बोकेका
र गाडीहरुमा
लोहरा र ईटा भरेर
हात हातमा डण्डा अनि
बन्दुक बोकी, हेलमेट अनि डण्डे जाकेट लगाई ।
पछाडी पछाडीबाट
लखेट्न धाइ धाइ आएका
शान्ति सुरक्षाका भतुवाहरुलाई देखेर
भाग–भागको आतंक छाइरहेछ ।
२०४६ सालको जनआन्दोलनको क्रममा ललितपुरको लगनखेलमा लेखेको कविता ‘आयो आयो’ को सम्झना २०८२ भाद्र २३ र २४ का दिनहरुका घटनाहरुले गरायो । पवित्र मनसायका साथ आमुल परिवर्तनका लागि मृत्यु वरण गर्न पुगेका युवाहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । – पुरन सिंह दयाल

















