अत्तरिया – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका १ लाख ८३ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
कैलालीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी ७५ हजार ८ सय रुपैयाँ बराबरका चिनी, चना, पानीपुरी, प्लास्टिक झिल्ली लगायतका सामान शुक्रबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका विभिन्न कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।
यसैगरी, कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी १ लाख ७ हजार ८ सय ३५ रुपैयाँ बराबरका पेय पदार्थ, चिनी, किराना लगायतका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेवारिसे अवस्थामा फेला पारेका ती सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
















