अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले खैरो हिरोइन र ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ धनगढी उपमहानगरपालिका–१५ कनरीबाट २ ग्राम ६८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।


प्रहरीका अनुसार से ४ प ३९९ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–७ बस्ने २९ वर्षीय सुनिल राना र ३२ वर्षीय प्रकाश रानालाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको थियो।
यसैगरी, शुक्रबार राति धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट १ ग्राम ६४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित अछामको साँफेबगर नगरपालिका–७ बस्ने २० वर्षीय अभिजन भाट पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा भाटको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















