पछिल्लो एक हप्तामा नेपालको राजनीतिक परिदृश्य एकदमै फरक बन्न पुगेको छ । आलोपालो गरी देश चलाउने राजनीतिक दलका प्रतिनिधिहरूलाई जेन जी नामक कलिला युवापुस्ताको समूहले नराम्ररी पछारेका छन् । २ दिनमा अकस्मात् देखा परेको जेन जी नामक समूह र त्यसले गर्ने भनेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक रूपमा परिणत हुँदा देशमा राजनीतिक बदलाव देखिएको छ ।
प्रदर्शन हिंसात्मक बन्दा देशका नौजवान युवाहरूले प्राणको आहुति दिन प-यो । कति मारिए, कति अझै अस्पतालको बेडमा छड्पटाईरहेका छन् । शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनलाई एकाएक हिंसात्मक बनाउनुमा प्रमुख जिम्मेवार तत्कालीन सरकार छ । प्रदर्शन गरिरहेका कलिला युवासमुहलाई तहसनहस बनाउनका लागि गोली चलाउनु सरकारको कायरताको प्रमाण हो ।

आफ्ना नागरिकको सुरक्षाको जिम्मेवारी लिनुको सट्टा सरकारबाटै नागरिक मारिन्छन् भने त्यो सरकार नागरिकको हुन सक्दैन । समग्रमा प्रदर्शनको रूपरेखाले पनि त्यसलाई प्रस्ट पारिदिएको छ । जेन जी को प्रदर्शनलाई गोलीले दमन गर्न खोज्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुप-यो, जेन जी का सामु घुँडा टेक्नुप-यो ।

उसो त जेन जी को प्रदर्शनमा घुसपैठ भएको भन्ने आएको छ, जेन जी कै कतिपय नेतृत्वकर्ताहरुले त्यो कुरा प्रस्ट्याएका पनि छन् । तर घुसपैठ भयो भन्दैमा नागरिकलाई गोली चलाउने आदेश दिने हक सरकारलाई छैन । सरकारको कायरतापूर्ण निर्देशनका कारण देशले उदाउन लागेका देशका भविष्यका कर्णधारहरू गुमाउन पुगेको छ, त्यसको क्षतिपूर्ति राज्यले दिन सक्ने अवस्था छैन ।
सरकारको हिंसात्मक निर्देशनकै कारण जेन जी को प्रदर्शन थप उग्र बन्दा चाडपर्वको मुखमा देशको अवस्था नाजुक बनेको छ । चलाउनलाई अन्तरिम सरकार बनेको त छ, तर त्यो प्रदर्शनले गर्दा क्षति भएका संरचनाहरू पुनर्निर्माण गर्न र त्यो अवधिमा व्यापार व्यवसायमा पुगेको क्षतिको मूल्याङ्कन गर्न तत्काल गाह्रो छ ।
तर अब बितिसकेको कुरालाई कोट्याइरहनु भन्दा आत्मसमिक्षा गर्न जरुरी छ । नागरिकले चाहे राष्ट्रको प्रधानमन्त्रीलाई समेत २ दिनभित्र कुर्सीबाट हटाउन सक्छ भन्ने चेतना सबैमा हुन जरुरी छ । देशको सर्वोपरि भनेको जनता हो । जनताको हितमा नभई स्वार्थ केन्द्रित राजनीति गर्ने नेताहरूले भोलि पनि यस्तै आन्दोलन हुन सक्छ भन्ने बुझ्न जरुरी छ । राजनीतिमा पनि बदलाव जरुरी हुन्छ ।
आगामी दिनमा राजनीतिक दल र नेताहरू सचेत बन्न आवश्यक छ । बढ्दो अहंकार भ्रष्टाचार लगायतका कारणले अहिले देशले यो अवस्था देख्नुपरेको छ । भोलि अझ त्यही प्रवृत्ति दोहोरियो भने यो भन्दा नि भयानक दृश्य देख्नुपर्ने हुन सक्छ भन्ने हेक्का सबै नेताहरूमा हुनुपर्दछ । बदलावका लागि भएको प्रदर्शनले कस्तो नतिजा दिनेछ भन्ने हेर्न बाँकी छ, यद्यपि वर्षैसम्म देशको नेतृत्व तहमा घुमिरहेका दलका नेताहरूलाई भने प्रदर्शनले गतिलो झापड दिएको छ । त्यसैले समयमै सच्चिन जरुरी छ ।
















