काठमाडौं – जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाटलगायत आपराधिक र हिंसाजन्य गतिविधिमा संलग्न व्यक्तिको खोजी अभियान सुरु भएको छ । आन्दोलनपछि सिर्जित राज्यविहीनताको मौका छोपेर अपराधमा संलग्नको पहिचान र नियन्त्रण गर्न चार वटै सुरक्षा निकायहरूले विशेष अपरेसन सुरु गरेका छन् ।
हत्या, लुटपाट, आगजनी, तोडफोडलगायत अपराधमा संलग्न व्यक्तिका सूचना भए उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक अपिल गरेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी तथा सम्बन्धित कारागार कार्यालयहरूले पनि तोडफोड र आगजनी गरेर कारागार/बन्दीगृहबाट भागेका कैदीबन्दीलाई फिर्ता हुन अपिल गरिसकेका छन् ।

प्रदर्शन, तोडफोड र आगजनी गरेर १४ हजार ४३ कैदीबन्दी तथा थुनुवा भागेकामा करिब ३ हजार मात्रै पक्राउ परेका छन् । बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । भागेका कैदीबन्दी भारत जान सक्ने भन्दै नेपाल–भारत सीमा नाकामा पनि कडाइ गरिएको छ । केही कैदीबन्दी भारतबाटै पक्राउ परिसकेका छन् ।

जेन–जी आन्दोलनपछि भड्किएको हिंसाको मौका छोपेर काठमाडौं उपत्यकाका विभिन्न प्रहरी युनिटबाट मात्रै गोली लोड गरिएकासहित २८ नाल घातक हतियार लुटिएका छन् । प्रहरी स्रोतका अनुसार उपत्यकाबाट एलएलआर ६ थाल, इन्सास ४ नाल र थ्री नट थ्री राइफल १८ नाल लुटिएका हुन् ।
काठमाडौंको महाराजगन्ज प्रहरी वृत्तका तीन जना प्रहरीको जलेर ज्यान गएको छ । हतियारसहित विभिन्न सुरक्षा उपकरण पनि लुटपाट भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रदर्शनका क्रममा लुटिएका हातहतियारलगायतका सुरक्षा उपकरणहरू फिर्ता गर्न अपिल गरेको छ । ‘नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार सञ्चार साधन, सवारीसाधन, असबाब, अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियारलगायत अन्य सामग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल ‘१००’, टोल फ्री नम्बर ‘१६६००१४१५१६’ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ‘९८५१२९३४५९’ मा सम्पर्क गरी फिर्ता गर्न,’ सूचनामा अनुरोध गरिएको छ ।
प्रहरीका यही व्यहोरा समेटिएका सूचना नेपाली सेना र सशस्त्र प्रहरीले पनि जारी गर्दै कैदीबन्दी फिर्ता हुन्, लुटिएका हतियार फिर्ता गर्न आह्वान गरेका छन् । त्यसयता नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फरार कैदीबन्दी र लुटपाट भएका हतियारको खोजीमा परिचालन गरेका छन् ।



















