अत्तरिया – हिजो दिनभरि निषेधाज्ञा जारी गरेर राती कर्फ्यु लगाएको नेपाली सेनाले आज बिहान र साँझ ६ घण्टाका लागि निषेधाज्ञाको समय घटाएको छ ।
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै काठमाण्डौं ललितपुर र भक्तपुरमा आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको हो ।


सेनाको विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको ।’
सेनाले आज बिहान १० देखि साँझ ५ बजेसम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते बिहान ५ बजेसम्म भने कर्फ्यु आदेश रहने जनाएको छ।
सेनाले हिजाे देशभर जारी गरेको निषेधाज्ञा सुदूरपश्चिमका बजार क्षेत्रमा सेनाले कडाइका साथ लागू गरेकाे थियाे । हिजो दिनभरि जारी निषेधाज्ञाको समयमा सेनाले बजार क्षेत्रमा कडाइ गरेको थियो । अत्तरिया, धनगढी, महेन्द्रनगर बजार क्षेत्रमा सेनाले गस्ती गरेकाे थियाे ।

















