खाेज्नुहाेस

मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने थेगिम र तेडी सँग तमसुक

Image

अत्तरिया – चौकिडाँडा फल्टुडे सडक कालोपत्रे गर्ने ठेक्का पाएका दुई ठेकेदार कम्पनी एडभेन्चर थेगिम/सनलाईट जेभि र तेडी निर्माण सेवा प्रालि सँग निर्माण सम्पन्न गर्ने तमसुक गरिएको छ ।

६ वर्ष देखि अलपत्र रहेको सडक तत्काल कालोपत्रे गर्नु पर्ने माग सहित स्थानीय र गोदावरीका जनप्रतिनिधि आन्दोलित भए पनि निर्माण सक्ने समय सीमा तोकेर सोमबार तमसुक गरिएको हो । प्रदेश सरकारको पुर्वधार कार्यालयले गरेको म्याद सकिएर थप गरिएको समय भन्दा अगावै सम्पन्न गर्ने गरी समय सीमा तोकेर तमसुक गरिएको हो ।

attariya hospital
navjiwan hospital

थेगिम सँग गरिएको सम्झौतामा असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, फागुन ३० सम्म दोस्रो लेयरको कालोपत्रे गर्ने र चैत्र ३० सम्म अन्य काम सकेर हस्तान्तरण गर्ने उल्लेख छ । जसमा थेगिमकी सञ्चालिका अनिता पन्त, प्रतिनिधि नारायण कडेल र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट सहित वडा नम्बर ३, ११ र १२ का वडाध्यक्ष १० का वडा सदस्य, सङ्घर्ष समितिका संयोजक लगायतको हस्ताक्षर रहेको छ ।

तेडी निर्माण सेवा सँगै गरिएको सम्झौतामा असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, मंसिर ३० सम्म दोस्रो लेयरको कालोपत्रे गर्ने र पुस ३० मा हस्तान्तरण गर्ने उल्लेख छ । जसमा तेडी निर्माण सेवाका सञ्चालक दिल बहादुर ओली, पूर्वाधार विकास कार्यालयका अधिकृत जनक रोकाया, जितेन्द्र सिंह धामी सहित गोदावरीका जनप्रतिनिधि र सङ्घर्ष समितिका प्रतिनिधिको हस्ताक्षर रहेको छ ।

चौकिडाँडा फल्टुडे सडक अन्तरगत अढाई किलोमिटर सडक कालोपत्रे गर्न थिगिम सँगै आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट ठेक्का सम्झौता भएको थियो । हाल उक्त कम्पनीको पटक पटक म्याद थप गर्दै पूर्वाधार विकास कार्यालय धनगढीले २०८३ असार २० सम्म तोकेको छ ।

चौकिडाँडा फल्टुडे सडक अन्तरगत ३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको तेडी निर्माण सेवा सँग भने आर्थिक वर्ष २०७९/०८० को बजेटबाट सम्झौता भएको थियो । उक्त कम्पनीको पनि पूर्वाधार विकास कार्यालयले पटक पटक म्याद थप गरेर हाल २०८२ पुस ३० सम्म तोकेको छ । तेडीको तोकिएकै म्यादमा हस्तान्तरण गर्ने गरी तमसुक गरिएको भए पनि थेगिमको हाल थप गरिएको म्याद भन्दा पनि ३ महिना अगावै काम सक्ने गरी सम्झौता गरिएको हो ।