खाेज्नुहाेस

जेन–जी पुस्ताको आन्दोलन देश भरी चर्कियो, सरकारद्वारा घातक बल प्रयोग

Image

अत्तरिया – जेन–जी पुस्ताले गरेको आन्दोलन देश भरीका सहरहरूमा चर्किएको छ । सोमबार बिहान देखि सुरु भएको जेन– जी पुस्ताको आन्दोलन काठमाडौँ लगायत देश भरीका सहरहरूमा चर्किएको हो । जेन जी को आन्दोलनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको छ भने ३४७ जना घाइते भएका छन् ।

जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा काठमाण्डौँमा १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको छ । अझै धेरै घाइतेको अवस्था गम्भीर रहेको अस्पतालहरूले जनाएको छन् । काठमाण्डौँमा भएको आन्दोलनमा सुदूरपश्चिमका ६ जना घाइते भएका छन । जसमा धनगढीका सौरभ कठायत (१९ वर्ष), डडेल्धुराका मुकेश अवस्थी (२२ वर्ष), कञ्चनपुरकी जान्ती सिंह ठकुरी (२१ वर्ष), अछामका राजेन्द्र साउद (२५ वर्ष), कैलालीका प्रकाश धामी (२७ वर्ष) र बझाङका अविषेक भण्डारी (१७ वर्ष) रहेको ट्रमा सेन्टर अस्पतालले जनाएको छ । अझै धेरै घाइतेको पहिचन हुन बाँकी छ ।

attariya hospital

सोमबार जेन–जी पुस्ताको आन्दोलन सुदूरपश्चिमका अत्तरिया, धनगढी, महेन्द्रनगर, डडेल्धुरा लगायतका सहरहरूमा पनि गरिएको थियो । अत्तरियामा स्वतःस्फूर्त रूपमा जम्मा भएका युवाहरूले अत्तरिया चोकमा विरोध -याली निकालेर कोष सभाको आयोजना गरेका थिए ।

विरोध -यालीका क्रममा युवाहरूले ‘युवा मार्न पाइँदैन’ केपी ओली मुर्दावाद’, ‘केपी चोर देश छाड’, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए । उनीहरूले सोसल मिडिया अफ, करप्सन अन, असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ, लुटेकै आधारमा देश चल्दैन, कता हिँडेको ट्याक्स लुटेर, केपी ओली चोर जनताको खुन चुस्ने भए देश छोड लेखिएका ब्यानर समेत बोकेका थिए ।

युवाहरूले काठमाण्डौँमा गोली लागेर रक्ताम्मे भएका शवमाथि झन्डा ओढाएको फोटोमा ‘जिउँदो रहँदा भ्रष्टहरू जस्तो पार्टीको झन्डा बोकेर हिँड्नु भन्दा मृत्यु पश्चात् यो देशको झन्डा ओढ्नुमा गर्व छ मलाई’ लेखिएको ब्यानर समेत बोकेका थिए ।

navjiwan hospital

निकै आक्रोशित देखिएका उनीहरूले युवा मार्न पाइँदैन भन्दै सरकारले काठमाण्डौंमा गरेको घातक बल प्रयोगको चर्को विरोध गरेका थिए । विरोध -यालीपछि आयोजना गरिएको कोष सभामा बोल्दै दुर्गा पोखरेलले १९ दिने जनआन्दोलन हुँदा पनि यति धेरै मानिसले ज्यान नगुमाएकोमा अहिलेको सरकारले चरम दमन गरेको बताए । उनले सामान्य युवाहरूले गरेको आन्दोलनमा चरम दमन गरेको भन्दै यसले देश भरीका युवामा आक्रोश बढाएको बताए ।

अन्धाधुन्ध बल प्रयोग

यसैबिच मानवअधिकारकर्मीहरुले सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक मात्रामा अन्धाधुन्ध घातक बल प्रयोग गरेको निष्कर्ष निकालेका छन् । उनीहरूले घातक बलकै प्रयोगका कारण दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु हुनुका साथै सयौँ घाइते भएको निष्कर्ष निकालेका हुन् । पूर्व घोषित आन्दोलन देशव्यापी रूपमा भड्किन सक्ने र घुसपैठ हुनसक्ने औल्याउदै जबाफदेही निगरानी समितिले आन्दोलनलाई ‘व्यवस्थित र शान्तिपूर्ण बनाउन होसियारी, तदारुकता र सावधानी अपनाउन सरकार चुकेको निष्कर्ष निकालेको हो ।

समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘सरकार पूर्णतः असफल भएको परिणामस्वरूप नै आज नितान्त दुःखद र त्रासदीपूर्ण घटना घटन पुगेको हो भन्ने जबाफदेहिता निगरानी समितिको प्रारम्भिक ठहर छ ।’ समितिले बल प्रयोगका स्थापित मूल्यमान्यताहरू मिचेर नागरिकको ज्यू ज्यानमा भयानक क्षति पुग्ने गरी घटना भएको भन्दै उनीहरूले निन्दनीय घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेको हो । समितिले घटनाप्रति क्षमा माग्नुपर्ने अनि सञ्चार तथा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो ।

सामाजिक, आर्थिक, मनोवैज्ञानिक, शैक्षिक लगायतका आयाम वारे युवामा पर्न सक्ने प्रतिकुलताको बेवास्ता गरी सरकारले सामाजिक सञ्जाल बन्द गरेको र त्यसको चौतर्फी विरोध हुँदा समेत पुनर्विचार गर्न सरकार तयार नभएको भन्दै समितिले त्यस क्रममा प्रधानमन्त्री र मन्त्रीहरूका हठपूर्ण अभिव्यक्ति समेत घटनाको कारक रहेको निष्कर्ष निकालेको छ ।

गृहमन्त्रीद्धारा राजीनामा

यसैबिच जेन –जी पुस्ताको आन्दोलनमा भएको मानवीय क्षतिप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । मन्त्री लेखकले सोमबार राति राजीनामा दिएका हुन् । लेखकले सोमबार राति बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन । सोमबार बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लेखकको राजीनामा माग गरेका थिए ।