राम्रै चलिराको थियो आँखा लाग्यो कुन को
यहाँ म परेछु फलाम उनले भेटिन् मान्छे सुनको

आज रिसाएनी दुई दिन मा फकाउन आउँछिन् सोचे तर
तेस्रो दिन मा मलाइ बिहेको निम्तो आयो उनको
कमाउँथे म प्यारी पछि हाम्रो नि बिहे हुन्थ्यो
तिमीले हतारै नगरी केही समय लिए हुन्थ्यो
निम्तो दिन आयौ एकैचोटी सुपारीको सट्टा बरु
खाएसी फ्याट्टै मर्ने खालको जहर दिए हुन्थ्यो
के गरूँ अरूले बेहुली बनाई लाने दिन
अनि दुनियाँले खसी बोका टन्न खाने दिन
कति माया गर्छु भनी नसोध न माया
मेरो घर मलामी हुन्छ तिम्रो जन्ती जाने दिन
मुटु मर्यो मर्छ ज्यान अमर त छैन मेरो
तिमि आफूखुसी जे गर केही सर्त छैन मेरो
तिमीले बिहे गर्छौ भनी मैले धम्की देको हैन
बस् तिमि नभए बाच्नु को केही अर्थ छैन मेरो
लगेपछि पराइले मेरी सानीलाई अब
भन्नु पनि के भन्नु आफै जानीलाई अब
हिजो सिरानी हौ तिमि सोची मस्त निदाईदिन्थे
आज को सम्झेर अन्गालु म सिरानीलाई अब
मनको कुरा सुन्न सके ढुक्क भन्छु रुन्थ्यौ
तिमी दुनियालाइ छाडी केवल यो मान्छे लाई चुन्थ्यौ
माया यति दिन्थे तिमिलाई कल्पनाको बाहिर
जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यौ
साँझ पख चुलो मा टक्क आगो बाली
अनि हामी दुई लाई पुग्ने जति खाना त्यहाँ बसाली
जब हासिदीन्थ्यौ ठ्याक्कै खुवाइदिन्थे
सानो रोटी को टुक्रामा धेरै माया हाली
के गर्दै छौ अचेल अनि कुन हालमा छौ
सँगै नभए पनि मेरो यादको सँगालो मा छौ
अ ठिकै छु म यसै एक्लै बितिराछ जीवन
तिमि पनि एक्लै छौ कि उसको अँगालो मा छौ
नैतिकता को स्वाद पनि चर्को थियो होला
उनले खोजिराको केटा धनी घर को थियो होला
मेरो भने दुनियाँमा केवल उनी थिइन्

तर उनको भने ब्याक अप सायद अर्को थियो होला
एक्लै एक्लै एक्लै एक्लै अब यस्तै परान जाला
मेरो मुटुकै पिडाले मानसिक सन्तुलन खाला
मैले भए जति सके जति माया उनलाई गरे
सबै उनीजस्तो भए नजिक कोइ नआइजा साला !
तिमीलाई नि के दोष दिनु मै मा खोट होला
उसलाई अङ्कमाल अनि मलाई धोका को चोट होला
जीवन मसित नै काट्छु भन्दा भन्दै बिहे गर्यौ
अब मैले चुम्ने गाला मा अर्कैको ओठ होला
गर्दिनँ म माया, घृणा भरसक गर्ने छैन
मेरो यादमा छ्यौ, यादबाट अलग गर्ने छैन
भोलि मलाई सम्झी म्यासेज गर्छ्यौ यही सोचेर नै तिम्रो
फोन नम्बर र फेसबुक आइडी ब्लक गर्ने छैन
अब
भरोसा नगरी माया मा खरानी धस्छु
कोही प्रस्ताव लिएर आए भाग्छु, गुफा भित्रै पस्छु
तिम्रो मेरो माया मर्यो त्यही नि, तिमीले बिहे गर्यौ
पीडा मलाई भयो, पिरतीको मै किरिया बस्छु
यदि बाँचे भने लगाइदिनु सङ्घर्षको माला
तिमीलाई देखिरहँदा श्रीमानसँगै सिन्दूर हातमा बाला
किन
तेह्र दिन नपुग्दै तिमीले अर्कै पोइलाई छोप्यौ
तिम्रै यादै याद मा मेरो त खोइ तेह्र वर्ष जाला
तिमीले घात गरेऊ, अनि मनमै ला’सी सुनाइसक्यो
हो नि, बौलाएर खुसी खुसी हाँसी सुनाइसक्यो
तिम्रो माया गर्ने तरिकालाई कठघरामा उभ्याई
तिमीलाई यो मुटुको न्यायाधिशले फाँसी सुनाइसक्यो
जानु तिमी धेरै टाढा नफर्किने गरी
बरु सम्हालुँला आउँदा तिम्रो याद घरी घरी
जाने बेला एक पटक पछाडि फर्की हेर्नु
तिमीले खुसी को नै आँसु देख्छ्यौ मेरो आँखा भरी
खुकुरी मा गर्दन राख्यो मेरो मन ले अब
हार्यो, कि त जित्छ अहङ्कार ले कि त धन ले अब
साँचो माया लागे मुटु छिया छिया हुन्छ यार
पिरती नै नला भन्छु म त कोइ मदन ले अब !
कवि प्रकाश साउद मालिकार्जन माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।

















