कैलालीको अत्तरियाबाट सुरु भएको यस दैनिकले निरन्तर पाँच वर्षको यात्रा पार गरी आज छैटौँ वर्षमा प्रवेश गरेको छ । यो क्षण हामी सबैका लागि गौरव र आत्मसन्तोषको विषय बनेको हामीले महसुस गरेका छौ । २०७७ साल भदौ १ गते, कोरोना महामारीको कहरले सम्पूर्ण मुलुक समस्याको गहिरो खाडलमा डुबिरहेका बेला हामीले सत्यतथ्य खबरको संवाहक बन्ने दृढ अठोटका साथ प्रकाशन प्रारम्भ गरेका थियौँ । त्यो समय देशभरका पत्रपत्रिकाहरू एकपछि अर्को बन्द भइरहेका थिए, उद्योग–व्यवसाय र बजारगत गतिविधिहरू पूर्णरूपमा थला परिसकेका थिए । महामारीका कारण पत्रकारिता नै अस्तित्वको सङ्कटमा परेको अवस्था थियो । त्यस्तो कठिन मोडमा पत्रिका सुरु गर्नु केवल साहस मात्र होइन, समाजप्रतिको गहिरो जिम्मेवारी पनि हो भन्ने हामीले अनुभूत गरेका थियौँ ।
गत पाँच वर्षको यात्रामा हामीले अनेकौं चुनौती र परीक्षा व्यहोरेका छौँ । कहिले आर्थिक सङ्कट, कहिले विज्ञापन अभाव, कहिले प्राविधिक कठिनाइ, कहिले आलोचना र कहिले अपार अपेक्षाको भारी बोकेर अघि बढ्दा पनि हामी झुकेनौ, सिथिल भएनौ । हाम्रो यो निरन्तरता केवल आदरणीय पाठकवृन्द, शुभचिन्तक, विज्ञापनदाता र सहयोगी महानुभावहरूले देखाउनुभएको अमूल्य विश्वास, स्नेह र प्रोत्साहनका कारण सम्भव भएको हो । यो अवसरमा सम्पूर्ण सहयोगी हातप्रति हामी हार्दिक नमन व्यक्त गर्न चाहन्छौ ।

पत्रकारिता केवल समाचार छाप्ने काम नभई यो समाजलाई सजग, सचेत र सक्षम बनाउनुपर्ने दायित्व हो भन्ने हाम्रो विश्वास हो । लोकतन्त्रलाई मजबुत बनाउन, नागरिकका आवाजलाई सम्बोधन गर्न र सत्तासँग प्रश्न गर्ने साहस देखाउन पत्रकारिता अपरिहार्य हुन्छ । यस दैनिकको मूल नारा ’सत्य र निष्पक्ष खबरको संवाहक’ केवल अक्षर मात्र होइन, हाम्रो कार्यपद्धति र आचरणको मार्गदर्शक हो । कुनै डर, धम्की वा दबावको परवाह नगरी निष्पक्ष, तथ्यपरक र जनपक्षीय पत्रकारिता गर्ने हाम्रो प्रतिवद्धता सधै अडिग छ ।

यस पाँच वर्षको यात्रामा भएका कमीकमजोरीलाई हामी आत्मसमीक्षा गर्दै आएका छौ । अब आगामी दिनमा अझ व्यवस्थित, आधुनिक र प्राविधिक रुपले सबल पत्रिका बनाउने हाम्रो लक्ष्य छ । डिजिटल प्रविधिसँगै प्रिन्ट संस्करणलाई पनि गुणस्तरीय बनाउन, नागरिकका प्रश्नलाई अग्रपंक्तिमा ल्याउन र स्थानीय तहदेखि राष्ट्रिय मुद्दासम्म सचेत बहस सिर्जना गर्न हामी निरन्तर खटिनेछौँ ।
पत्रिका केवल सम्पादक वा प्रकाशकको मात्र होइन, सम्पूर्ण समाजको साझा सम्पत्ति हो भन्ने हाम्रो मान्यता छ । त्यसैले आदरणीय पाठक, शुभचिन्तक, विज्ञापनदाता र सरोकारवालाको सुझाव र मार्गनिर्देशनलाई हामीले आगामी दिनमा अझ गहिरो रुपमा ध्यान दिनेछौँ । तपाईंहरूको निरन्तर माया, विश्वास र सहयोग नै हाम्रो प्रेरणा र ऊर्जा बनेर आउने दिनमा पनि साथ रहिरहनेछ भन्ने दृढ अपेक्षा सहित छैटौँ वर्षमा प्रवेश गरिरहेको यो पावन अवसरमा समाजका वास्तविक मुद्दा, नागरिकका दुःख–सुख र जनताको आवाजलाई प्राथमिकतामा राख्दै अझ जिम्मेवार, निष्पक्ष र तथ्यपरक पत्रकारितासहित हामी अघि बढ्ने दृढ प्रण गर्दछौँ ।
धन्यवाद !
















