धनगढी – सुदूरपश्चिम प्रदेशमा ३ दिनदेखि लगातार वर्षा भइरहेको छ । मनसुन सुरु भएको लामो समयपछिको लगातारको झरीले बर्षेबालीमा जुटेका किसानलाई राहत पुगेको छ ।

कृषि ज्ञान केन्द्र कैलालीका सहायक कृषिप्रसार अधिकृत मदनराज जोशीका अनुसार ढिलै भए पनि यतिबेलाको बर्षाले किसानहरुलाई राहत भएको छ । खासगरी धान, मकै, कोदो र उखु लगायतका बर्षेबालीलाई ढिलो गरी पानी परे पनि राहत मिलेको छ । उनले यस वर्ष छिटो धान रोपाइँ सुरु भएको अवस्थामा निरन्तर पानी नपर्दा किसानहरु बर्षेबाली प्रभावित हुने चिन्तामा रहेको बताए । उनले भने, ‘यही गतिले निरन्तर वर्षा भएमा धानबालीलाई राम्रो हुने सम्भावना बढेको छ ।’

यसैबीच कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार आगामी केही दिनहरुमासमेत तत्काल भारी वर्षाको सम्भावना नभए पनि न्युनचापीय रेखा सरदर स्थानमै रहेकोले हल्का र मध्यम वर्षा भइरहने छ । ‘मध्यम वर्षाले किसानहरुका लागि थप राहत हुनेछ,’ उनले भने । उनका अनुसार सुदूरपश्चिमका तराई तथा पहाडी सबै जिल्लामा पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाको रेकर्डअनुसार यो वर्ष मनसुन नेपालमा केही छिटो जेठ १५ गते नै भित्रिएको हो । कमजोर प्रणालीका कारण जेठ १५ मा भित्रिएको मनसुन फैलिन नपाउँदै डाइभर्ट भएको थियो । दोस्रो चरणमा जेठ २९ गते मनसुन भित्रियो । असार ६ देखि देशैभरि मनसुन फैलिएपछि वर्षा सुरु भएको हो ।

















