खाेज्नुहाेस

न्याय माग्ने नै गृहमन्त्री हुँदा पनि निर्मलाले पाइनन् न्याय

Image

कञ्चनपुर – ७ वर्ष अघि हत्या गरेर उखुबारीमा मृत भेटिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तले अझै न्याय पाएकी छैनन् । साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी निर्मला भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन ।

निर्मलाको बलात्कार पछि हत्या गरिएको तथ्य उजागर भए पनि अहिले सम्म अपराधी पक्राउ परेका छैनन् । निर्मलाको न्यायका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत दबाब दिइएको थियो । तर, हाल निर्मलाको न्यायको लागि उति बेला सडक आन्दोलनमै होमिएका कञ्चनपुरका रमेश लेखक गृहमन्त्री हुँदा पनि उनले न्याय पाउन सकेकी छैनन् ।

attariya hospital
navjiwan hospital

आन्दोलनका क्रममा निर्मला पन्तको हत्याराले संरक्षण पाइरहेको बताएका लेखकले एक वर्ष देखि न्याय दिने कुर्सीमा हुँदा पनि उनले यस विषयमा खासै बोल्न समेत छोडेका छन् । हाल बोलिहाले पनि गृहमन्त्री लेखकले अनुसन्धान जारी रहेको बाहेक धेरै बोल्न छोडेका छन् ।

प्रहरीले पनि हाल अनुसन्धान जारी रहेको बताउँदै आएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले निर्मला हत्या प्रकरणको अहिले पनि अनुसन्धान जारी रहेको बताए ।

यो प्रकरणमा प्रहरीले १२४ जना बढीको डिएनए जाँच गरिसकेको, साढे ६०० बढी व्यक्तिसँग सोधपुछ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि हालसम्म ३३ लाख बढी खर्च भइसकेको छ ।