धनगढी – उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नाउपाको आकस्मिक बैठक बस्न लागेको हो ।

शुक्रबार बिहान १० बजे संसदीय दलको कार्यालयमा बस्ने बैठकले सरकारबारे निर्णय गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।‘मुख्यमन्त्री ज्यूले मन्त्रीज्यूलाई हटाएपछि हामीले बैठक आह्वान गर्न लागेका हौँ ’ उनले भने, ‘सरकारबारे बैठकमा निर्णय हुन्छ ।’


पार्टी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले बिहीबार नै सङ्घ र प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिने घोषणा गरिसकेकी छन् । सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि सोही अनुसार तयारी गरेको छ । तर, पार्टी केन्द्रको पत्र भने अझै संसदीय दलमा पुगेको छैन ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि सङ्घ र प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था भने छैन ।