खाेज्नुहाेस

भारतमा बन्धक बनाइएका ५८ युवालाई गड्डाचौकी नाका हुँदै नेपाल ल्याइयो

Image

कञ्चनपुर – आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याएर बन्धक बनाइएका ५८ नेपाली युवाको  उद्धार गरी नेपाल ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्धक बनाइएका युवाहरुको उद्धार गरी बुधबार गड्डाचौकी नाका हुँदै नेपाल ल्याइएको हो ।

नागरिक संस्था किन नेपाल, किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

attariya hospital
navjiwan hospital

रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको उनले बताए ।

उद्धार गरेका युवालाई बसमार्फत सीमा नाका गड्डाचौकी पुर्याइएको थियो । सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआइजी) डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए ।

उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना रहेका छन् भने अन्य  चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन् ।