धनगढी – नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएको बताएका छन् । नेपाल प्रेस युनियन, कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेका छन् । यसका साथै उनले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीभित्र गरिने पदाधिकारी बैठकमाथि प्रश्न उठाएका हुन् । ‘संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ । यो गलत छ र यसलाई रोक्नुपर्छ ।’


महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसंग उठाउँदै पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शिर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको बताए । केन्द्रीय सदस्य महरले आगमी महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार भएर निर्वाचित हुने दाबी गरे। ‘मैले ०७९ सालमै महामन्त्री लड्ने घोषणा गरिसकेको छु,’ उनले भने, ‘त्यसपछि ७४ जिल्ला पुगिसकेको छु । सबैले महामन्त्रीमा लड्न सुझाउनुभएको छ। मेरो ध्यान पनि त्यसतर्फ नै केन्द्रित छ ।’
नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भन्दै उनले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान हुनुपर्ने र पार्टी आदर्शवादी हुनु पर्नेमा जोड दिए । दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आवश्यक नीति, कानुन निर्माण गरेर यथाशक्य छिटो संचालन गर्नुपर्ने महरको भनाइ थियो ।