धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले नेकपा एमाले माथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताएका छन ।

बुधबार नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताएका हुन । यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।


उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ । पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ ।’
सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै भने, ‘उहाँ देश निर्माणमा समर्पित हुनुहुन्छ । दिनको २० घण्टा काम गर्नुहुन्छ । यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्छ ।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्ने भन्दै उनले सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न आह्वान गरे ।