खाेज्नुहाेस

सुदूरपश्चिममा सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रमको आलोचना

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रमको सत्ता पक्षकै सांसदले आलोचना गरेका छन । नीति तथा कार्यक्रममाथि शुक्रबार प्रदेश सभामा भएको छलफलमा सत्तारूढ दलका सांसदहरूले नै असन्तुष्टि जनाएका हुन ।

नीति तथा कार्यक्रम प्रदेशको वास्तविक आवश्यकता र प्राथमिकताको आधारमा तयार नगरेको आरोप लगाउँदै सत्तापक्ष र प्रतिपक्ष दुबैका सांसदहरूले सरकारलाई आक्रोश पोखेका छन्।

attariya hospital

सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले नीति तथा कार्यक्रमले प्रदेशका धेरै कार्यक्रम समेटे पनि प्रदेश गौरवका योजनालाई प्राथमिकता नदिएको बताइन । उनले नीति कार्यक्रम राम्रो भए पनि प्रदेश गौरवका योजनालाई प्राथमिकता नदिइएको बताइन् । ‘नीति तथा कार्यक्रमले प्रदेशका गौरवका आयोजनालाई प्राथमिकता दिएको देखिएन’ उनले भनिन् ‘संघका गौरवका आयोजनालाई मात्रै हेरेर हुँदैन । त्यसका लागि प्रदेश सरकारले छुटै अध्ययन गरेर प्रदेशका गौरवका योजनाहरूलाई अघि सार्न सक्नुपर्दछ ।’

उनले जनताले सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन नभएको महसुस गरिरहँदा नीति तथा कार्यक्रममा आधारभूत आवश्यकता समेटिन आवश्यक रहेको बताइन् । उनले जनताका आधारभूत आवश्यकता पुरा गर्नको लागि स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको बताइन् ।

navjiwan hospital

यस्तै एमाले सांसद धर्मराज पाठकले पर्यटन क्षेत्रको प्रचार मात्र भएको तर परिणाममुखी काम नभएको बताए। उनले भारतका पर्यटकीय प्याकेजसँग मिलाएर कार्यक्रम ल्याउनु जरुरी भएको औँल्याए। साथै, कृषिमा अनुदानका नाममा प्रदेश बदनाम भइरहेको भन्दै अनुदान मोडालिटी पुनःसंरचना गर्नुपर्ने तर्क गरे।

नागरिक उन्मुक्ति पार्टीका सांसद खुशीराम चौधरीले आफूले प्रतिनिधित्व गर्ने क्षेत्रमा धेरै योजना बजेट विनियोजन भए पनि कार्यान्वयनमा कमजोरी देखिएको बताए। उनले सांसदहरूको भूमिका गौण बनाएको भन्दै वित्तीय हस्तान्तरण प्रणालीमै पुनरावलोकनको आवश्यकता रहेको बताए।

पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद मानबहादुर धामीले बजेट खर्च ४० प्रतिशत नपुग्दासम्म नयाँ नीति कार्यक्रम ल्याउनु अर्थहीन भएको तर्क गरे। उनले छुट्टै विद्युत् प्राधिकरण स्थापना गरेर सुदूरपश्चिमका जलस्रोतको सदुपयोग गर्न सुझाव दिए।

एकीकृत समाजवादीका प्रकाश रावलले सङ्घीय सरकारले सुदूरपश्चिमलाई निरन्तर उपेक्षा गर्दै आएको गुनासो गरे। उनले पूर्वपश्चिम राजमार्गका कतिपय खण्डका योजना बेवास्ता गरिएको आरोप लगाए। कृषिमा आत्मनिर्भरता नआउँदासम्म प्रदेशको स्रोत वृद्धिमा कठिनाइ हुने उनको भनाइ थियो।

स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले दीर्घकालीन परिणाम दिने परियोजनामा लगानी गर्न सरकारलाई आग्रह गरे। उता, कांग्रेस सांसद मधुदेवी भारतीले भम्केनी धामको मूर्ति निर्माण अधुरो रहेको र बजेटमा त्यसबारे कुनै उल्लेख नभएकोप्रति चिन्ता व्यक्त गरिन्।

सभामुख भीमबहादुर भण्डारीका अनुसार, नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहनेछ।