अत्तरिया – सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले नीति तथा कार्यक्रमले प्रदेशका धेरै कार्यक्रम समेटे पनि प्रदेश गौरवका योजनालाई प्राथमिकता नदिएको बताएकी छिन । शुक्रवार प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आफ्ना धारणा राख्दै उनले नीति कार्यक्रम राम्रो भए पनि प्रदेश गौरवका योजनालाई प्राथमिकता नदिइएको बताइन् ।

‘नीति तथा कार्यक्रमले प्रदेशका गौरवका आयोजनालाई प्राथमिकता दिएको देखिएन’ उनले भनिन् ‘संघका गौरवका आयोजनालाई मात्रै हेरेर हुँदैन । त्यसका लागि प्रदेश सरकारले छुटै अध्ययन गरेर प्रदेशका गौरवका योजनाहरूलाई अघि सार्न सक्नुपर्दछ ।’

उनले जनताले सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन नभएको महसुस गरिरहँदा नीति तथा कार्यक्रममा आधारभूत आवश्यकता समेटिन आवश्यक रहेको बताइन् । उनले जनताका आधारभूत आवश्यकता पुरा गर्नको लागि स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको बताइन् ।
उनले प्रदेशका प्रत्येक पालिका र जिल्लामा उद्योग स्थापना गरिनुपर्ने बताइन् । उनले अहिले पनि पालिका केन्द्र सम्म सडक भरपर्दो सडक पुग्न नसकेको बताउँदै त्यसका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताइन् ।
उनले गोदावरी धाममा २०८० श्रावण २२ गते आएको बाढीले धेरै संरचना क्षति गरेको अवस्थामा उक्त क्षेत्रको डिपिआर पनि बनेको भए पनि त्यसका लागि बजेट कतैबाट नपरेको बताइन् । उनले डिपिआर अनुसार बजेट विनियोजन गर्न प्रदेश सरकारको ध्यान जान आवश्यक रहेको बताइन् ।

















