अत्तरिया – सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएको छ । सोमबार बसको दोस्रो प्रदेश सभाको छैठौ अधिवेशनको छैठौ बैठकमा विधेयक पारित गरिएको हो ।
बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले भने प्रक्रिया नपुगेको भन्दै बैठक बहिस्कार गरेका थिए ।


बैठकमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले विधेयक प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरेका थिए ।
छलफलमा सांसद विक्रम सिंह धामी, अक्कल बहादुर रावल, चक्र बहादुर मल्ल, नरेश कुमार शाहीले भाग लिएका थिए ।
प्रतिपक्षी दलले दुई दलका प्रदेशसभा सदस्यले मात्रै बोलेर निर्माणार्थ पेस गरिएको भन्दै नियमापत्ति जनाउँदै विरोध गरेका थिए । उनीहरूले सदन छोडेर बाहिरिए पनि सभामुख भीम बहादुर भण्डारीले सर्वसम्मतले पारित भएको घोषणा गरेका थिए ।
सोमबार बसेको प्रदेश सभा बैठकले सुदूरपश्चिम प्रदेश सभाको सचिव र सचिवालयलाई व्यवस्थापन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि पारित गरेको छ ।




















