बैतडी– बैतडीमा सञ्चालन गरिएको एनसीसी मेन्स यू–१६ इस्ट जोन कप अन्तरगतको जिल्ला छनौटको उपाधी निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी) ले हात पारेको छ । अन्तिम प्रतिस्पर्धामा पाटन भ्याली क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै एनसिसी च्याम्पियन बनेको हो ।
पहिले व्याटिङ गरेको एनसीसीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर ९४ रन मात्रै बनाउन सकेको थियो । उसका लागि कृष्ण बोहराले नटआउट रहदै ४७ रन बनाए भने बिक्रम बोहराले १९ रन बनाए । बलिङमा भ्यालीका तेजकिरण बिष्टले ३ विकेट लिए ।
९५ रनको लक्ष्य पछ्याएको भ्याली १२ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ६३ रनमा समेटियो ।


भ्यालीका खेलाडी अमन बिष्टले २४ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा एनसिसीका रोशन बोहरा र शिरिष बोहराले तीन÷तीन र नविनसिंह भाटले दुई विकेट लिए ।
एनसिसीका रोशन बोहरा प्लेयर अफ द फाइनल घोषित भए । विजेता र उपविजेता टोलीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, सचिव सिद्धराज बोकटीलगायतले पुरस्कार वितरण गरेका छन् ।
जिल्ला क्रिकेट सङ्घ बैतडीको आयोजनामा गत वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता थियो । छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिनेछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एनसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि यही जेठमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दैछ ।













