खाेज्नुहाेस

बझाङमा न्यून गुणस्तरको मदिरा बिक्री गर्न रोक

Image

बझाङ – बझाङमा न्यून गुणस्तरको मदिरा बिक्री गर्न रोक लगाइएको छ । अवैध रूपमा उत्पादित घरेलु मदिरा तथा पलाष्टिकको बोतल र थैलीमा प्याकिङ भएर आउने न्यून गुणस्तरको मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । न्यून गुणस्तरको मदिराका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सर्वपक्षीय बैठकले उक्त प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराको अध्यक्षतामा बझाङका १२ वटै पालिकाका प्रमुख, उपप्रमुख, राजनैतिक दलका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघलगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।

attariya hospital
navjiwan hospital

मदिरा बिक्री वितरण नियमन निर्देशिकाअन्तर्गत गठित मदिरा बिक्री वितरण नियमन, अनुगमन, निरीक्षण समितिले जिल्लाभर गरेको स्थलगत अध्ययनले यस्तो खालको मदिरा बिक्री वितरणबाट आम नागरिकको स्वास्थ्यमा असर गरेको, घरेलु हिंसा, चोरी डकैती, लुटपाट जस्ता आपराधिक घटनामा वृद्धि भएको तथा नागरिकको जीवनस्तर सुधारमा समेत अवरोध खडा गरेको निष्कर्षका आधारमा उक्त प्रतिबन्ध लगाइएको सर्वपक्षीय बैठकको निर्णयमा उल्लेख छ ।

जेठ एक गते पलास्टिकमा प्याकिङ भएको मदिरा जिल्लाभित्र ल्याउन रोक लगाइए पनि जिल्लामा मौज्दात रहेको पलास्टिकमा प्याकिङ मदिरा भने जेठ १० गतेसम्म सम्बन्धित व्यापारीले व्यवस्थापन गरिसक्नु पर्ने समयसीमा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । ’अहिले भित्रिएको न्यून गुणस्तरको मदिरा फिर्ता गर्नका लागि हामीले १० गतेको डेडलाइन तोकेका हौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन् ।

यस्तै सर्वपक्षीय बैठकले होटल व्यवस्था तथा मदिराको बिक्री वितरण नियन्त्रण ऐन २०२३ र मदिरा ऐन २०३१ मा व्यवस्था भएअनुसार बिक्री गर्ने स्थान, समयको पनि अनुगमन गर्ने र सोविपरीत भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको छ ।

maya metro hospital