बझाङ–बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विस २०६५ सालमा निर्माण गरेको १६ किलोवाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट गोइचनका करिब २०० परिवार लाभान्वित हुँदै आएका थिए । उक्त जलविद्युत आयोजना निर्माणमा गरिबी निवारण कोष र सप्रोज नेपाल र एन्साप नेपाल संस्थाको २७ लाख लगानी रहेको र बाकी स्थानियले जनश्रमदानमा निर्माण गरिएको थियो ।

तीन वर्षअघि आएको बाढीका कारण आयोजनामा प्रयोग हुने मेसिनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो । आर्थिक अभाव तथा मर्मत सामग्री अभावका कारण विद्युत पुनः सञ्चालनमा आउन सकेको छैन । विद्युत बन्द भएपछि दैनिकी निकै कष्टकर बनेको स्थानीय बिर्ख बोहराले बताए ।

निर्माण समितिका निवर्तमान अध्यक्ष रामबहादुर बोहराले विकट स्थानका कारण मर्मत सामग्री ल्याउन गाह्रो हुने, सामान नपाइनु र बजेटको अभावले समस्या समाधानमा ढिलाइ भएको बताए । मर्मतका लागि वडा कार्यालय, बुंगल नगरपालिका र अन्य सम्बन्धित निकायमा पटक–पटक अनुरोध गरिएकोभए पनि कुनै सुनुवाइ नभएको उनले बताए ।
बुंगल नगरपालिकका नगर प्रमुख जयबहादुर धामीले भने विद्युत मर्मत गर्ने कि कालंगा हाइड्रोपावरसँग समन्वय गरेर गोइचनमा विजुली बाल्ने भन्ने बिषयमा उक्त वडाका वडाध्यक्षसँग छलफल गरिरहेको र छिट्टै समस्या समाधान गरिने बताए ।