टीकापुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू समुदायका लागि लड्ने शक्ति नेकपा माओवादी केन्द्र भएको बताएका छन । कैलालीको टीकापुरमा मंगलबार देखि सुरु भएको थारू राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले थारू समुदायका लागि लड्ने शक्ति माओवादी नै नभएकाले अरुको भ्रममा नपर्न आग्रह गरे ।
उनले नेपालको राजनीतिक परिवर्तनमा थारू समुदायले ऐतिहासिक बलिदानी गरेको बताए । थारू मुक्तिको कार्यभार अझै बाँकी रहे पनि थारू आयोगको व्यवस्था, थारूलाई मधेशी क्लस्टरबाट छुट्याउने, थारू समुदायका लागि समावेशी समानुपातिक अधिकार स्थापित भएको बताए ।


थारू समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धता सहित रुपान्तरणको दिशामा अघि बढेकाले थारू समुदायकै मुक्तिका लागि फरक शक्ति आवश्यक नपर्ने बताए । उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गरे ।
टीकापुरकाण्डमा जालझेल गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले यो संघर्षको सम्मान गरेको र यही बहानामा एउटा थारूको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगिएको बताए ।
सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल जातीय अतिवादको पक्षमा नरहेको बताए । उनले सबै उत्पीडित, वर्ग, क्षेत्र, जाति र समुदायको राज्यमा बराबरी हक हुनुपर्छ भन्ने आफूहरुको नीतिका आधारमा सामन्ती एकाधिकारवादी र पुँजीपतिहरुले गलत आरोप लगाउने गरेको बताए ।
प्रचण्डको नेतृत्वमा उत्पीडित वर्ग, समुदाय तथा कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका जनतालाई एकताबद्ध गरेर मुलुकमा सामन्ती व्यवस्थाको पर्यायका रुपमा रहेको राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको पुनको भनाइ थियो । उनले अझै पनि आन्दोलनका उपलब्धीको रक्षा र थप उपलब्धीका लागि उत्पीडित वर्ग र समुदायबीच बलियो एकता जरुरी रहेको औंल्याए ।















