बाजुरा– बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययनका लागि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई पत्र पठाएको छ । गाउँपालिकाले पालिकाभित्र रहेका फलाम खानीको सम्भाव्यता अध्ययनका लागि मन्त्रालयलाई पत्र पठाएको हो ।

परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहित मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताए ।

गाउँपालिकाका स्थानीयले पालिकाभित्रै परा–पूर्वकालमा उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोग गर्ने गरेका छन् । पालिका भित्रका स्थानीय नागरिकले पुराना फलामका औजारहरू प्रयोग गर्ने गरेको तथ्य समेत रहेकोले सम्भाव्यता अध्ययन गरी फलाम उत्खननका लागि आवश्यक बजेट व्यवस्था गर्न पत्र मार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।
















