अत्तरिया – धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि २०७९ सालमा ट्र्याक खुलेको थियो । विस २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ट्र्याक खोल्ने कार्य थालिएको थियो । त्यस बेला खुटियाबाट दिपायल सम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढी सम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो । बजेट अभावकै कारण सुरुदेखि अलपत्र पारिँदै आएको यो सडकमा हाल बजेट अभावकै कारण पुल निर्माणको काम प्रभावित भएको छ । बजेट अभावका कारण धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने ८ वटा पुलको काम प्रभावित बनेको हो ।
धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बजेट अभावका कारण कैलाली र डोटीका ८ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको बताए । आयोजना कार्यालयले २०७८ माघ मा ६ वटा र २०७९ जेठमा २ पुल गरी ८ पुल निर्माणका लागि २८ करोड ७५ लाखमा ठेक्का लगाएको थियो । तर, पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन सकेको छैन ।


इन्जिनियर रैखोलाका अनुसार चप्टे नदीमा पुल निर्माण गर्न २ करोड ९७ लाख, मटेलीमा ३ करोड २६ लाख र चौकीगडा पुलका लागि ४ करोड ७० लाखमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न ३ करोड ५१ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस्तै कालाखोल–लामगाडा पुल निर्माणका लागि ४ करोड ५ लाख, नकुराडी खोलाको पुलका लागि ३ करोड ८२ लाख, कैलालीको हाटखोली पुलका लागि ५ करोड १९ लाख र ग्वासी खोलामा बन्ने पुलका लागि ४ करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
तर, ८ पुलका निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा ४०/४० लाखका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा ८०/८० लाखका दरले प्रतिपुल मात्रै बजेट विनियोजन गरिएको छ । न्यून बजेट विनियोजन हुँदा हाल काम प्रभावित भएको योजना कार्यालयले जनाएको छ । इन्जिनियर रैखोलाले चालु आर्थिक वर्षमा विनियोजन गरिएको मध्ये ४ करोड ५० लाख खर्च भइसकेको बताए । १ करोड ८० लाखको हाराहारीमा मात्रै बजेट बाँकी रहेको बताउँदै उनले असारसम्म १५ करोड पुलका लागि बजेट आवश्यक पर्ने बताए । उनले पुलको भुक्तानीका लागि १५ करोड थप बजेट माग गरिएको बताए ।
धनगढी – दिपायल द्रुतमार्ग कालोपत्रेका लागि भने चालु आर्थिक वर्षमा १ अर्ब बजेट सुनिश्चित गरिएको छ । कैलालीको हाटखोली देखि शिवनगर सम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको थियो । नयाँ बजेट अनुसार विनियोजित बजेट अनुसार सडक कालोपत्रेका लागि नयाँ ठेक्का सम्झौता गरिने योजना कार्यालयले जनाएको छ । धनगढी – दिपायल द्रुतमार्ग निर्माण भएका कैलाली देखि डोटीको दुरी आधा भन्दा कम हुने छ । अहिले धनगढीबाट डडेल्धुरा भएर डोटीको दिपायल पुग्न २ सय १० किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ । द्रुतमार्ग निर्माण भए यो दुरी छोटिएर ९६ किलोमिटर हुनेछ ।

















