बैतडी– बैतडीमा कम तौल भएको मोटो चामलको बोरा बिक्रि भैरहेको पाईएको छ । बैतडीका विभिन्न बजार क्षेत्रमा बिक्री भइरहेको मोटो चामलमा तौल कम भएको पाईएको हो । जिल्लामा बिक्रि भैरहेको ५० किलोको बोरामा एक किलो र २५ किलोको बोरामा आधा किलो चामल कम भएको पाइएको बताईएको छ ।

कैलालीको बालाजी राईस मिल, एच्छा राईस मिल र कञ्चनपुरको कृष्णपुरमा रहेको त्रिपुरासुन्दरी एग्रो इण्डस्ट्रिज प्रा.लि. ले उत्पादन गरी बैतडीमा बिक्रि भैरहेका चामलमा कम तौल भएको व्यापारीहरुले गुनासो गरेका छन ।

पाटन नगरपालिका –८, विप्याकटाल बैतडीका खुद्रा व्यापारी हरिश बिष्टले चामलको बोरामा कम्पनीले ठगी गरेको गुनासो गरे । उनले बोरा खोलेर खुद्रा चामल बिक्री गर्दा व्यापारी र सिङ्गो बोरा किन्दा उपभोक्ता ठगिएको बताए । बजारमा मोटो चामल प्रतिकिलो ५४ रुपैयाको दरमा बिक्री भइरहेको छ ।
जिल्लाका विभिन्न बजार क्षेत्रमा कम्पनीले कम तौल भएको चामलको बोरा पठाएको गुनासो आएकोले अनुगमन गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले तुरुन्तै अनुगमन गर्ने तयारी भइरहेको समेत बताए ।

















