धनगढी – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष किसानबाट ३४ हजार ४५८ क्विन्टल धान खरिद गरेको छ । लिमिटेडले जिल्लाको छ स्थानमा गोदाम र केन्द्र सञ्चालन गरेर किसानबाट धान खरिद गरेको हो ।
टीकापुर गोदामले १४ हजार ९४०.६५ क्विन्टल, सत्ती गोदामले १० हजार २६८.५७ क्विन्टल, भजनी खरिद केन्द्रले दुई हजार ५९१.८४ क्विन्टल धान खरिद गरेको जनाइएको छ ।

यसैगरी, जोशीपुर खरिद केन्द्रमा चार हजार १४२.६६ क्विन्टल, गौरीगङ्गा खरिद केन्द्रमा २९७.४५ क्विन्टल र मोहनपुर गोदाममा दुई हजार २१६.९८ क्विन्टल धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी नवीन बूढाले जानकारी दिए ।

लिमिटेडले यस वर्ष कात्तिक ११ गतेबाट किसानको धान खरिद कार्य सुरु गरेको थियो । प्रति क्विन्टल ३ हजार ४१०.५१ रुपियाँमा मोटा धान खरिद गरिएको छ ।
















