अत्तरिया – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न ४ काम गरिरहेको बताएका छन् । आइतबार नवजीवन सहकारी धनगढीको ३१ औँ वार्षिक साधारण सभा तथा राईस मिलको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले सहकारीका समस्या समाधानका लागि सूचना केन्द्र बनाउने, कोष खडा गर्ने, न्यायाधिकरण गठन गर्ने र नियमन निकाय बनाउने काम गरिरहेको बताए । उनले यी ४ काम तत्काल सञ्चालन गर्ने गरी काम गरिरहेको बताए ।


सूचना केन्द्र र कोष राष्ट्रिय बैङ्कले सञ्चालन गर्दै आएका निकायबाट गर्ने गरी काम भइरहेको उनले बताए । उनले न्यायाधिकरण र नियमनका काम भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गर्ने गरी काम गरिरहेको बताए ।
‘नियमनका लागि मैले ७ वटै प्रदेशबाट भेला पनि आयोजना गरिएको छ । सहकारीको उत्पत्ति स्थानीय तह, प्रदेशबाट भएको छ’ उनले भने ‘त्यसैले नियमन केन्द्रबाट भए पनि प्रदेश र स्थानीय तहलाई पनि जोड्ने गरी काम गर्ने गरी छलफल गरिरहेका छौ ।’

उनले सहकारी व्यवस्थित सञ्चालन गर्नको लागि अब अहिले सुझाव पनि सङ्कलन गरिरहेको बताए । उनले सहकारी ऐन २०७४ बनाउँदा केही नरम हुँदा पनि अहिले समस्या आएकोले त्यसमा पनि संशोधन आवश्यक रहेको उनले बताए ।
उनले केही सहकारीले सहकारीको परिधि भित्र नरहँदा समस्या आएको बताए । ‘कतिपय राष्ट्र बैङ्कले अनुमति दिने सहकारी क्षेत्र हामीले हेर्दैनौ भन्ने, अर्कोतिर सहकारी क्षेत्रका सञ्चालकहरूले सहकारी स्वनियम अन्तरगत सञ्चालन हुन्छ कसैको बन्देज हुँदैन भन्ने अर्थले बुझ्ने गरेका छन् । जसले यी दुई कुरामा तालमेल नहुँदा अहिले समस्या देखिएको छ ।’ उनले सहकारीको लक्ष्य, उद्देश्य विपरीत काम गर्दा समस्या देखिएको बताए । उनले समस्या देखिएको भए पनि यसको समाधान पनि गर्न सकिने बताए । उनले सहकारीमा फिँजाइएको भ्रम चिर्नको लागि सहकारीहरू नै अग्रसर हुनुपर्ने बताए ।

सम्बन्धीत समाचार : गोदावरीमा नवजीवन सहकारीको राईस मिल सञ्चालन
भिडियो
