अत्तरिया- दलित समाज विकास मञ्च बैतडीले आफूहरुमाथि शोषण भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा विभिन्न किसिमका विभेदहरु, असमानता, अन्याय र शोषण उत्पीडन अझै कायम रहेका भन्दै ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा विभिन्न पाँच बुँदे माग गरिएको छ । जिल्लास्थित सार्वजनिक मठ मन्दिर, धारा पँधेरा तथा निजी स्थलहरुमा अझै जातीय भेदभाव रहेको उल्लेख गर्दै विभेद अन्त्यको माग गरिएको छ ।


त्यसैगरी हलिया पुनर्स्थापना कार्यक्रम तुरन्त सुचारु गर्न सबै पालिकाहरुमा पत्राचार गरिनुपर्ने, सीप तथा रोजगारीका अवसरहरुमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्व नदेखिएकाले संविधानको मर्म अनुसार समावेशी सिद्धान्तको आधारमा उचित अवसर दिइनुपर्ने लगायतको माग गरिएको छ ।





















