कैलाली- कैलालीमा बिहीबार राति ग्याङ फाइट भएको छ । गौरीगंगा नगरपालिका-८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले झगडपका क्रममा दुबै समूहका गरेर पाँच जना घाइते भएका बताए । उनका अनुसार गौरीगंगाकै २५ वर्षीय विक्रम बम, २३ वर्षीय सुरेश बम, २३ वर्षीय कृष्ण बोहोरा, २० वर्षीय दिनेश बसाल र २२ वर्षीय प्रशान्त कलेल घाइते भएका हुन् । घाइतेहरुमध्ये तीन जनाको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

प्रवक्ता बोहोराले ग्याङ फाइट गर्ने एउटा समूहको नेतृत्व गर्ने गौरीगंगा-५ का २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको बताए । थापाको समूहमा खेम बम, लक्ष्मण बिष्ट र सुनिल खड्का रहेका र विक्रम बम लगायतको अर्को समूह रहेको प्रहरीले बताएको छ । झडपमा धारिलो हतियार समेत प्रहार भएको पाइएको प्रहरीले बताएको छ ।
















