बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका – २ डिम्बरकी १८ वर्षीया किशोरी बेपत्ता भएको चार दिन वित्दा समेत भेटिएकी छैनन् । किशोरीलाई स्थानीय माहाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीले बेपत्ता पारेको परिवारको दाबी छ ।

किशोरीलाई पटक–पटक बोलाई भेटघाट गर्ने जोशी बालिका सम्पर्क बिहीन बनेपछि चौकीमा कार्यरथ सहायक हवल्दार र प्रहरी जवानको सहयोगमा ट्यूब मार्फत माहाकाली नदी तरी भारत जान लागेका थिए । सोही अवस्थामा स्थानीयले जोशी सहित दुई जना प्रहरीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । जोशीलाई स्थानीयले कुटपीट समेत गरेकाले उनको जिल्ला अस्पताल बैतडीमा उपचार भएको थियो ।

छोरीको अवस्था अझै अज्ञात भएकाले न्यायका लागि किशोरीका परिवार जिल्ला सदरमुकाम गढी पुगेका छन् । उपचार पछि आरोपित जोशीलाई हिरासतमा राखि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी मकेन्द्र मिश्रले बताए । उनले जोशी विरुद्ध परिवारका आफन्तबाट किटानी जाहेरी दर्ता भएको बताए ।
असोज २५ गते बिहान करिब ४ बजेको समयमा घरबाट पानी भर्न गएकी किशोरी अबरेसम्म नफर्किएपछि स्थानीयले खोजी गरेका थिए । खोजी गर्दै जादा आफुहरुले राती सम्म खोज्दा समेत फेला पार्न नसकेको किशोरीका आफन्तले बताएका छन् ।


















