अत्तरिया – कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औ वार्षिकोत्सव मनाएको छ । बुधबार संस्थाको केन्द्रिय कार्यालयमा वार्षिकोत्सव मनाईएको हो ।
संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी केक काटेर वार्षिकोत्सव मनाईएको संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले बताए । कार्यक्रममा संस्थाको सञ्चालक समितिका निर्वतमान पदाधिकारीहरुलाई विदाई पनि गरिएको थियो ।


कार्यक्रममा संस्था स्थापनाका समयमा भोगिएका समस्या, संस्थालाई हालको अवस्थासम्म पु-याउन गरिएका संघर्ष तथा संस्थाको हालको अवस्थाका बारेमा छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक जोशीले गरेका थिए ।
१२ वर्ष अगाडि २६ जनाको १ लाख २५ हजार शेयर पुँजीबाट सुरु भएको सहकारीको हाल २ करोड ३१ लाख ४६ हजार ६ सय शेयरपुँजी रहेको छ । संस्थाले हाल अत्तरियामा आफ्नै भवन निर्माण गरेको छ । जहाँ उक्त संस्थाको केन्द्रिय कार्यालय रहेको छ ।
भाडाको घरमा सञ्चालनमा रहेको सहकारीले गत आर्थिक वर्षमा १ करोड ३७ लाख खर्च गरेर अत्तरियाको रिङ्ग रोडमा नयाँ भवन खरिद गरेको थियो । संस्थाले केन्द्रिय कार्यालय सहित अत्तरियाको महेन्द्रनगररोडमा र गेटामा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएर सेवा दिदै आईरहेको छ ।



















