बझाङ – पहिरोले पोलमा क्षति पु-याएपछि बझाङमा तीन दिन देखि विद्युत सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा सँगै बुधबार जयपृथ्वी नगरपालिकाको तमैलनजिक आएको पहिरोले पोल ढल्दा राष्ट्रिय प्रशारण लाइनमा समस्या आएपछि सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।
यस्तै बैतडीको भालुमारेमा दुई वटा पोल ढलेको र शनिबार तमैलमा पनि फेरि समस्या आएका कारण लामो समय विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रले जानकारी दिएको छ । दुवै ठाउँमा मर्मतको काम भैरहेको प्राविधिकरणका कर्मचारी राम कुँवरले बताए ।


जिल्लाको विद्युत सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । लामो समयदेखि विद्युत अवरुद्ध हुँदा स्थानीयको दैनिक जनजीवनका साथै व्यापार व्यवसाय र सरकारी कामकाज समेत प्रभावित भएको छ ।
विद्युत नहुँदा मोबाइल समेत चार्ज गर्न नपाएर स्थानीयको संचार सम्पर्क टुटेको छ भने बन्द व्यापारदेखि लिएर कार्यालय र घरायसी कामकाज समेत समस्या आउन थालेका छन् ।
लामो समयसम्म विजुली नआउँदा होटल, मासु पसल र दुग्ध व्यवसाय गर्नेलाई मार्का परेको छ । यस्तै, दुधजन्य पदार्थ पनि भण्डारण गर्न समस्या भएका कारण खेर फाल्नु परेको डेरी संचालक सावित्री सिंहले बताइन् । बझाङ सदरमुकाम चैनपुरमामात्र ३० भन्दा बढी मासु पसल र ८ वटा डेरी छन् ।
यस्तै विद्युत अवरुद्ध भएका कारण यहाँका ग्रिल उद्योग, कुटानी पिसानीमिल, फर्निचर उद्योग, बेकरी उद्योगको काम ठप्प भएको छ । एक ग्रिल उद्योग संचालक रमेश जोशीले विजुली नहुँदा उद्योग बन्द गरेर बस्नु परेको बताए ।

















