धनगढी – नेपाल उद्योग बाणिज्य महासघंका अध्यक्ष चन्द्र प्रसाद ढकालले हाल देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार बनेपछि व्यवसायीमा आसा पलाएको बताएका छन् । कैलाली उद्योग बाणिज्य सघंको ५० औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले कोरोना कहर पछि ओरालो लागेको उद्योग ब्यवसाय राजनीतिक अस्थिरताका कारण माथी उठ्न नसकेको बताएका हुन् ।

‘कोरोना पछि व्यापार ब्यवसाय निरन्तर ओरालो लाग्यो ब्यवसायीका पीडा मैले भनिराख्नु पर्दैन’ अध्यक्ष ढकालले भने ‘कोरोना कहरपछि आर्थिक मन्दी शुरु भयो । त्यस कारण धेरै ब्यवसायी पलायन पनि भइसकेका छन्, त्यसपछि हामीहरुले देशको आर्थिक क्षेत्र सुधार गर्ने प्रयार गरेकै हौँ । तर ६ महिना ३ महिनामा फेरिने नेपालको सरकारका कारण आर्थिक सुधार हुन सकेन ।’

उनले हाल देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार बनेकाले व्यवसायीमा आसा पलाएको बताए । उनले भने ‘अब राजनीतिक स्थायित्व हुन्छ र देशको अर्थतन्त्र सुधार हुन्छ भन्ने हामीहरुले आश लिएका छौँ, यसको शुरुवात सेयर मार्केटबाटै भएको छ, सरकारले अर्थतन्त्रका लागि शुरुवाती सकेंत राम्रै देखाएको छ, यो सफल हुन्छ भन्नेमा हामी बिश्वस्त छौँ ।’
उद्योग बाणिज्य महासघंलेनै निकै लबिङ गरेकै कारण बैकं तथा बित्तिय संस्थाको ब्याजदरमा सुधार भएको ढकालले बताए ।



















