बैतडी- जापानमा समुद्रमा नुहाउने क्रममा डुबेर मृत्यु भएका बैतडीको पाटन नगरपालिका-३ का जनक प्रशाद अवस्थीको जापानमै अन्त्येष्टि गरिएको छ । शव नेपाल ल्याउन आर्थिक अभाव भएपछि बिहीबार दिउँसो मृतकका साथीहरुले जापानमै आफ्नो पैसाबाट खर्च गरेर अन्त्येष्टी गरेका बताइएको छ ।

उनी गत वैशाखमा अध्ययनसँगै रोजगारीका लागि जापान गएका थिए । जनकको शव नेपाल ल्याउन आर्थिक अभाव भएपछि जापानमै अन्त्येष्टि गरिएको आफन्तले बताएका छन् । जनकको शव ३ दिन अस्पतालमै राखिएको थियो । उपचारकै ४-५ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ । हालसम्म करिब १ लाख हाराहारी आर्थिक रकम सहयोग जुटेको आफन्तले बताएका छन् ।

ऋण निकालेर जापान पठाएका छोराको मृत्यु भएपछि उनको परिवार झनै आर्थिक समस्यामा परेको छ । मृतकका बुवा लक्ष्मी दत्त अवस्थीको ग्लोबल आइएमइ बैंक खाताको तल देखाइएको क्युआर मार्फत आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।

















