अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले दुई वटा कृषि समूहलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । बुधवार नगरपालिकाले वडा नम्बर १० को खमौरा र दमौरामा रहेका तरकारी उत्पादक दुई वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाको कृषि शाखा प्रमुख नन्दी मल्लले तरकारीमा पकेट विकास कार्यक्रम अन्तरगत तरकारी खेती गर्न नवीनतम प्रविधि प्रयोगका लागि पालिका र कृषक समूहको संयुक्त लगानीमा सामाग्री हस्तान्तरण गरिएको बताइन् ।

उनले दमौरामा रहेको सुनौलो कृषि समूह र खमौरामा रहेको जनकल्याण कृषक समूहलाई ७ हर्ष पावरको मिनी ट्रेलर २/२ थान, थोपा सिचाइका लागि ४/४ लाइन पाइप, मल्चिङ प्लास्टिक २/२ रोल, फेरोमेन ट्र्याप १५/१५ ओटा, औषधी छर्कने ट्याङ्की २/२ वटा, क्रेट १५/१५ ओटा कृषक समूहलाई हस्तान्तरण गरेको बताइन । कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्टले उत्पादनलाई व्यवसायीकरण गर्दै आत्मनिर्भरका उपायहरू अवलम्बन गर्नु पर्नेमा जोड दिए ।


















