सुर्खेत- २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् ।

सुर्खेत प्रहरीले मुगु र हुम्लाबाट बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेका नाम्गेल छिरिङ नाम गरेका व्यक्तिलाई सोमबार राति वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनले वडाबाट ल्याएको सिफारिस देखाए पनि सबैको सिफारिस छैन । यसबारे सोध्दा छिरिङले बोली पटक–पटक बदलिरहेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार १६ बालिका र बाँकी बालक छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बालबालिका ल्याउने व्यक्तिले काठमाडौँको कुन ठाउँमा लैजाने भन्ने विषयमा पनि प्रस्ट खुलाउन नचाहेको बताए ।


















