अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले न्यायिक अधिकारको बारेमा वडातहमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले सोमबार वडा नं. १ बाट उक्त अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।

वडाका मेलमिलापकर्ताहरुलाई न्याय सम्पादन र मेलमिलापको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक शारदा देवी रोकायाले बताईन । उनले नगरको वडाको मेलमिलाप केन्द्र एवम् नगरको न्याष्कि समितिले कस्ता मुद्धाहरु हेर्न मिल्ने, कस्ता हेर्न नमिल्ने, कुन मुद्धामा कस्तो किसिमको सजाय छ र त्यसको प्रकृया के हो लगायतका बारेमा जानकारी दिईएको बताईन ।

‘यो कार्यक्रम वडामा रहेका मेलमिलापकर्ता, वडाका कर्मचारी र जनप्रतिनिधिहरुलाई दिईएको हो’ उनले भनिन् ‘उनिहरुलाई न्यायिक समितिको जित जितको अवस्था कसरी सृजना गर्ने, न्याय सम्पादन कसरी गर्ने लगायतका विषयमा जानकारी दिन आवश्यक थियो ।’
नगरपालिकाको न्यायिक समितिको आयोजनामा सुरु भएको अभिमुखीकरण कार्यक्रममा सबै वडामा सञ्चालन हुने बताईएको छ । कार्यक्रमको सहजिकरण अधिवक्ता गणेश कडायतले गरिरहेका छन ।

















