बैतडी- बैतडीमा कफी खेती विस्तारका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कफीको बीउ र बिरुवा रोपेर सुरुवात गरेका छन् । पाटनमा एक कार्यक्रमकाबीच कफीको बिउ र बिरुवा रोपेर उनले कफी खेती विस्तार कार्यको सुरुवात गरेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले जिल्लाको पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाबाट कफी खेतीको सुरुवात गरिएको जनाएको छ । मन्त्री भण्डारीले बैतडीमा कफी खेतीको राम्रो सम्भावना रहेको बताउँदै कफी घरेलु बजारमा मात्रै नभएर निर्यातको समेत सम्भावना भएको नगदेबाली भएकाले यसको विस्तारका लागि सरकारले पहल गरिरहेको बताए ।

पहाडी क्षेत्रहरुमा कफीखेतीको उच्च सम्भावना रहेकाले बैतडीबाट यसको सुरुवात गरिएको र अन्य जिल्लाहरुमा पनि कफीखेती विस्तारका लागि मन्त्रालयले पहल गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले बताए ।
खेतीका लागि पाटन र डिलाशैनीबाट २०/२० जना किसान छनौट गरिएका छन् । उनीहरुलाई आइतबारदेखि दुई दिने आधारभूत तालिम दिने योजना रहेको सहसचिव अधिकारीले बताए । तालिममा कफीखेती गर्ने तरीका, बिउ राख्ने र भण्डारण गर्ने तरिका लगायतका आधारभूत विषयमा जानकारी दिइने उनले बताए ।

















