कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको विउ वितरण गरेको छ । नगरपालिकाले नगरभित्रका किसानहरुको आयस्तर बढाउन १ सय ३० क्विन्टल उन्नत जातको धानको विउ वितरण गरेको हो ।

किसानहरुको कृषि उत्पादनमा वृद्धि गरी उनिहरुको आयआर्जन बढाउने उद्देश्यले उन्नत जातको धानको विउ वितरण गरेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई उक्त विउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख करनसिँह बुढाऐरले बताए ।

नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको उनले बताए । नगरपालिकाले वितरण गरेको बिउमा साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल रहेको उनले बताए ।
उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन प्रत्येक वर्ष शाखाले माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको उनको भनाई छ ।

















