काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबीच निरन्तर छलफल हुने गरेको भए पनि कुनै विवाद भने नभएको उनले बताए ।

यसैबीच, अर्थमन्त्री महतले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नुलाई बजेट घटेको अर्थ लगाउन नमिल्ने बताए । पत्रकार सम्मेलनमा उनले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको बताए ।


















