खाेज्नुहाेस

गोदावरीमा स्यानिटरी प्याड मेसिन थन्कियो, स्थानीय सरकारको बेवास्ता

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा स्यानिटरी प्याड बनाउने मेसिन थन्किएको छ । व्यापार तथा निकास प्रवर्द्धन केन्द्रले ३ वर्ष अघि निःशुल्क स्थानीय सरकारलाई उपलब्ध गराएको मेसिन अहिले थन्किएको हो । स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिने बजारीकरणमा सहयोग गर्ने भनेपनि अहिले आफैले उत्पादन गर्ने स्यानिटरी प्याडको समेत बजार सुनिश्चितता गर्न सकेको छैन । स्थानीय सरकारले विद्यालयहरूमा वार्षिक लाखौं रकम खर्चेर स्यानिटरी प्याड वितरण गर्दै आएको भएपनि त्यसमा पनि आफ्नै उत्पादनलाई प्राथमिकता दिएको छैन ।

स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ मा ‘स्थानीय तहहरूले एक आपसमा समन्वय गरी स्थानीय श्रोत, ज्ञान, सीप र उद्यमशीलता प्रवर्द्धन हुने गरी स्थानीय स्तरमा नै स्यानिटरी प्याडको उत्पादन, उपभोग र वितरण गर्न सक्नेछन्’ भन्ने उल्लेख छ । कार्यविधि अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहने उल्लेख छ । उक्त कार्यविधिमा उक्त समितिको काम, कर्तव्य स्थानीय स्तरमा स्यानिटरी प्याड उत्पादन गर्ने उद्यमीहरू सँग समन्वय र सहकार्य गर्ने उल्लेख छ ।

attariya hospital

कानूनी प्रावधान र स्थानीय उत्पादनलाई प्राथमिकता दिने आफ्नै घोषणाको खिल्ली उडाउँदै हाल पालिकाले नै निशुल्क पाएको मेसिन थन्क्याएको छ । वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिह बडैलाले उत्पादित स्यानिटरी प्याडको बजार सुनिश्चितता नहुँदा थन्क्याउनु परेको बताए । ‘म आउनु अगाडि नै यो मेसिन लथालिङ्ग अवस्थामा थन्किएको थियो । पछि मैले दातासँग यसलाई अन्य ठाउँमा लग्ने कुरा गरेपछि सुनवाई भएन’ उनले भने ‘हामीले चलाउने हो भने यसको उत्पादन बिक्री हुने कि नहुने ? हाम्रो उत्पादन किन्ने कि नकिन्ने ?’ उनले मेसिन सञ्चालन भए एक जनाले रोजगारी पाउने भएपनि बजार सुनिश्चितता नहुँदा नै सञ्चालनमा आउन नसकेको बताए । उनले सहकारीलाई दिएर चलाउन मिल्ने भए आफूले सो प्रक्रिया अगाडि बढाउने बताए । उनले बजारको सुनिश्चितता नभएको बताएपनि उनी वडामा आएपछि मेसिन सञ्चालनमा भने आएको छैन ।

स्थानीय कर्ण बहादुर साउदले भने मेसिन सञ्चालन गरे बजारको समस्या नहुने बताए । उनले वडा कार्यालयले मेसिन सञ्चालन गर्नको लागि चासो नै नदेखाएको बताए ।

navjiwan hospital

‘मैले मेसिन कच्चा पदार्थ नपाउँदा सञ्चालन नभएको सुनेको थिए’ उनले भने ‘मेसिन सञ्चालनमा ल्याए बजारको समस्या हुने थिएन ।’ उनले ओलानी क्षेत्रमै स्यानिटरी प्याडको पर्याप्त माग सृजना गर्न सकिने बताए । उनले मेसिन सञ्चालनमा आए स्थानीय २÷३ जनाले रोजगारी पाउने बताए ।

गोदावरी स्वास्थ्य चौकीको भवनमा राखिएको उक्त मेसिन व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले ८ लाख ४० हजारमा खरिद गरेर २०७७ माघ १६ गते वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो । तत्कालीन वडाध्यक्ष शिव विकले सुरुमा डेढ महिना सञ्चालन भएको मेसिन कोरोना महामारीका कारण बन्द भएको बताए । उनले कोरोना महामारीपछि थन्किएको मेसिन पुनः सञ्चालन हुन नसकेको बताए । ‘त्यतिबेला भारतबाट आएका मानिसले मेसिन सञ्चालन गर्न सिकाएका थिए । हामीले पदम गिरीलाई त्यसको प्रमुख बनाएर काम गरेका थियौ’ उनले भने ‘लगतै कोरोना आएपछि काम ठप्प भयो ।’

गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने भनेपनि विद्यालयमा प्रतिस्र्पधाका आधारमा सेनेटेरी प्याड खरिद गरिने बताए । उनले सेनेटेरी प्याड खरिदका नगरको कुनै भूमिका नहुने बताए । उनले भने ‘हामीले विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयलाई रकम हस्तान्तरण गर्छौ । विद्यालयले प्रतिस्पर्धाका आधारमा स्यानिटरी प्याड खरिद गर्छ ।’

स्थानीय स्तरमै रोजगारी सृजना गर्न सहयोग पुग्ने भएपनि मेसिन प्रयोग विहीन बनेपछि स्थानीयले सामाजिक सञ्जाल मार्फत पनि चर्को विरोध जनाएका छन ।

भिडियो