अत्तरिया – पूर्वपश्चिम राजमार्ग देखि ३ सय मिटर भित्र पसेपछि खेतको बीचमा एउटा हरियाली बगैँचा देखिन्छ । डेढ कठ्ठा जग्गामा सजावटका बोटविरुवा रोपिएको यो बगैँचा नर बहादुर खडायतको आवास सँगै उनको व्यवसाय गर्ने थलो हो । कैलालीको गोदावरी नगरपालिका – १ बसन्तपुरमा रहेको यो सानो बगैँचामा पस्दा सुरुमा घर वरपर उनले व्यक्तिगत प्रयोजनका लागि सजावट गरेको जस्तो आभास हुन्छ । तर, उनले घर आँगनलाई पनि नर्सरीकै हिस्सा बनाएर व्यवसायी रुपमा बेर्ना उत्पादन गरिरहेका छन । जसमा उनले एक टुक्रो जग्गा पनि खाली नरहने गरी व्यवस्थित रुपमा बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन ।
कृषि कर्म गर्नको लागि ठूलै जग्गा चाहिन्छ भन्ने सोचलाई चिर्दै उनले सानो घरबासमा कृषि कर्म गरेर दैनिकी चलाइरहेका छन । डोटीबाट २०४३ सालमा तराइ झरेका खडायतले सुरुमा सो जग्गाका फर्निचर उद्योग सञ्चालन गरेका थिए । भारतमा सिकेको सीपलाई सदुपयोग गर्दै फर्निचर उद्योग सञ्चालन गरेपनि त्यो धेरै वर्ष चल्न सकेन ।

‘सानो मै जागिरको खोजीमा भारतको दिल्ली गएको थिए’ कडायतले भने ‘२/३ वर्ष त्यहाँ फर्निचर उद्योगमा काम गर्ने मौका पाएपछि त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै घरमै फर्निचर उद्योग सञ्चालन गरेको थिए । तर, पछि फर्निचरका सामानको पैसा रोकिएर व्यवसायमा नोक्सान भएपछि छोडिदिए ।’

फर्निचर उद्योग संगै आफ्नो डेढ कठ्ठा जग्गामै २५ घार माहुरी पालन गरेका खडायतलाई माहुरी व्यवसायले पनि धेरै दिन साथ दिएन । ‘घर नजिकै हाइटेन्सन लाइन भएकाले त्यसको तारमा बस्ने चराहरूले माहुरीको घार रित्याउन थाले’ उनले भने ‘५/६ वर्ष माहुरी पालन गर्दा घाटा पनि भएन फाइदा पनि भएन ।’ त्यसपछि उनले आफ्नो डेढ कठ्ठा जग्गामै बाख्रा पालन सुरु गरे । केही वर्ष व्यवसायीक बाख्रा पालेका खडायतले २०६३ सालदेखि भने निरन्तर नर्सरी व्यवसाय गर्दै आएका छन ।
‘सानो जग्गामा गर्न सकिने व्यवसाय भएकाले मैले नर्सरी व्यवसाय रोजेको हुँ’ उनले भने ‘अहिले मैले सजावटका बिरुवा देखि लिएर तरकारीका बेर्ना तयार गरेर बिक्री गर्दै आएको छु ।’ ५८ वर्षीय खडायतले व्यवस्थित रुपमा काम गर्न सके सानो जग्गामा पनि कृषि काम गर्न सकिने बताए । ‘नर्सरी व्यवसाय गर्ने मेरो सौख नै थियो । पहाडमा छदा पनि हामीले घरमा विभिन्न विरुवाहरु उत्पादन गर्ने गरेका थियौ’ उनले भने ‘यहाँ सुरुमा बिभिन्न फलका बिरुवा उत्पादन गरेको थिए । हाल सजावटका बिरुवाको बढी माग हुन थालेपछि त्यसैलाई प्राथमिकता दिएको छु ।’
उनले नर्सरीमा उत्पादन गरेका बेर्नाले सहजै बजार पाउने गरेको बताए । ‘मैले नर्सरीमा उत्पादन भएका बेर्ना बिक्री गर्न बजार लग्दैन’ उनले भने ‘फलफुल, तरकारीका बेर्ना घरबाटै बिक्री हुन्छन ।’ उनले कोरना पछि भने केही व्यवसायमा कमी आएको बताए । उनले नर्सरीमा लगानीको लेखाजोखा नगरेपनि वार्षिक ५ देखि ७ लाख आम्दानी हुने गरेको बताए ।
सानो नर्सरीबाट मनग्य आम्दानी गरिरहेका खडायतले दैनिक १४ घण्टासम्म काम गर्ने गरेको बताए । उनले नर्सरीमा नियमित काम गर्ने कामदार पनि नराखेको बताए । ‘कहिलेकाही बढी काम भएपनि केही मानिस ज्यालादारीमा लगाउने गरेको छु’ उनले भने ‘बाँकी समय मिचाइँ, गोडमेलका लागि आफै खटिने गरेको छु ।’
उनले घरमा एक्लो भएर व्यवसायलाई धेरै ठूलो बनाउन नसकेपनि यसलाई अझै बढाउने योजना रहेको बताए । नर्सरीको काममा हाल उनकी श्रीमतीले सघाउँदै आएकी छिन भने उनका ३ छोरीको भने बिहे भइसकेको छ । ‘बुढेसकालको सहारा पनि अब यही नर्सरी हो’ उनले भने ‘युवाहरुले गर्ने हो भने त यो काम सहजै गर्न सक्छन् । विदेशमा गर्ने मिहेनत यहाँ गर्न सके थोरै जग्गामा धेरै आम्दानी गर्न सकिन्छ ।’


















